बेलायत / ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले २३ जना रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिएको घोषणा गरेकी छिन्। उनको यस्तो कदम एक रुसी पूर्वगुप्तचारमाथि गत मार्च ४ मा ब्रिटेनमा विष प्रयोग गरी भएको हमलासँग सम्बन्धित छ। "अघोषित गुप्तचर अधिकारीहरू" भनेर बताइएका ती कूटनीतिज्ञहरूसँग देश छाड्न एक हप्ताको समय भएको प्रधानमन्त्री मेले बताइन्। रुसले स्क्रिपाल र उनकी छोरीको हत्याको प्रयासमा उसको संलग्नता भएको भनिएका विवरणहरू अस्वीकार गर्दै आएको छ।

आपत्कालीन बैठक

यस घटनाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बुधवार अबेर बस्दैछ। ब्रिटेनले उक्त बैठक बोलाउन आग्रह गरेको थियो। रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले ब्रिटेनले पूर्वगुप्तचर स्क्रिपालमाथि विष प्रयोग गरिएको घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

मस्कोमा पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त घटनाबारे लण्डनले आफूलाई सबै थाहा भएजसो गरी विश्वलाई बताउन खोजेको उल्लेख गरे। ब्रिटेनको आरोप बलियो र गम्भीर नभएको लाभ्रोभले बताए। सेर्गेई स्क्रिपाल र उनकी छोरीलाई रुसमा बनाइएको स्नायुप्रणालीमा असर गर्ने विषालु पदार्थबाट लण्डनमा किन आक्रमण गरियो भन्नेबारे उत्तर दिन ब्रिटेनले दिएको समयसीमालाई मस्कोले बेवास्ता गरेपछि ब्रिटेनको राष्ट्रिय सुरक्षा परिषद्ले थप प्रतिबन्धबारे छलफल गरेको छ। ब्रसल्समा युरोपेली आयोगका प्रवक्ता एलेक्जाण्डर वीन्टर्‌स्टाइनले दोषीमाथि कारबाही गर्ने ब्रिटेनको प्रयासप्रति आफ्नो समर्थन जनाए। BBC