विराटनगर । जीवन विज्ञान प्रतिष्ठान काठमाडौँको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा सञ्चालित सातदिने चक्र विज्ञान कार्यक्रममा ३२५ जनाको सहभागिता रहेको थियो । 

 विराटनगरस्थित मनास्लु होटलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला आउनु भएका योगसाधकहरुलाई योग, ध्यान र साधनाका माध्यमबाट शारीरिक, मानसिक तथा आध्यात्मिक चेतनाको विकास गर्ने विषयमा अभ्यास गराइएको थियो । कार्यक्रमको उद्घाटन कात्तिक १४ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो  भने समापन कात्तिक १८ गते गरिएको थियो। 

सात दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीलाई योग र ध्यानका विभिन्न विधिबारे सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास गराइएको आयोजकले जनाएको छ । मानव शरीरमा रहेका सातवटा ऊर्जा केन्द्र ९चक्र० लाई सक्रिय र सन्तुलित बनाउँदै मानिसभित्रको अन्तर्निहित ऊर्जा, चेतना र सम्भावनाको पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा र रमेश नेपालले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले चक्र विज्ञान केवल योग तथा ध्यानको कार्यक्रम मात्र नभई मानिसभित्र रहेको ऊर्जा, चेतना र सम्भावनालाई चिन्ने आत्मयात्रा भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले वर्तमान समयमा बढ्दै गएका आर्थिक तथा मानसिक तनाव, डिप्रेसन र दुर्व्यसनजस्ता चुनौतीको समाधानका लागि पुराना शैली र सिद्धान्त मात्र पर्याप्त नहुने बताउनुभयो । यस्ता समस्याको सामना गर्न नयाँ चेतना र व्यावहारिक अभ्यास अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रमको सयोजनसमेत गर्नु भएकी कोशी प्देश सभा सदस्य तथा योग प्रशिक्षक यशोधा कायास्थले आफ्नो शारीरिक अवस्थासँगै मानसिक तथा भावनात्मक अवस्थालाई पनि बुझ्न आवश्यक रहेको उल्लेख गर्दै योग, ध्यान र आत्मसाधनाले व्यक्तिमा सकारात्मक सोच, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा प्रदेशसभाका उपसभामुख सिर्जना राईलगायतको उपस्थिति रहेको थियो ।

जीवन विज्ञान प्रतिष्ठानले योग, ध्यान र जीवन व्यवस्थापनका माध्यमबाट मानिसमा सकारात्मक चेतना र जीवनोपयोगी व्यवहार विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । चक्र विज्ञानमार्फत मानिसको शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक पक्षलाई सन्तुलित बनाउने अभ्यास गराइने संस्थाले जनाएको छ ।

सात दिनसम्म सञ्चालित कार्यक्रममा सहभागीहरूले योग, ध्यान र आत्मचिन्तनका विभिन्न अभ्यासबारे जानकारी लिने अवसर पाएका थिए । कार्यक्रमले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा समाजमा शान्ति, सद्भाव र सकारात्मक सोचको विकास गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

yoga1