धरान / नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको पहिलो बैठकले युवा तथा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालनदेखि पार्टी संगठन सुदृढीकरणसम्मका महत्वपूर्ण निर्णय गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि निर्वाचित धरान उपमहानगर कार्यसमितिका सभापति नरेन्द्रकुमार राई (प्रविन) को अध्यक्षतामा साेमबार बसेको बैठकले युवालाई लागूऔषध दुर्व्यसनबाट जोगाउँदै सामाजिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले जेनजी फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले आगामी मंसिर २१ गतेदेखि जेनजी फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। युवालाई लागूऔषध तथा दुर्व्यसनबाट टाढा राख्दै असल नागरिक र देशको भविष्यका कर्णधारका रूपमा विकास गर्न चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ।
त्यसैगरी सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई उच्च माध्यमिक तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ। विद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले गरिएको उक्त निर्णयलाई बैठकले प्राथमिकतामा राखेको सभापति राईले जानकारी दिनु भयाे ।
संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन मंसिर १२ र १३ गते नगरस्तरीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ। प्रशिक्षणमा वडा सभापति र सचिवको अनिवार्य सहभागिता रहनेछ।
यसैगरी धरान–१३ र धरान–२० मा रहेको बीपी पार्कको व्यवस्थापन तथा सञ्चालनका लागि नगर सभापतिको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरिएको छ। पार्कमा थप पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणका काम अघि बढाउन आवश्यक पहल गर्ने बैठकको निर्णय छ।
१५औँ महाधिवेशनबाट निर्वाचित पालिका समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलाई समेत ध्यानमा राख्दै कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय गरिएको छ। यसका लागि पार्टी नेतृत्वसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बैठकले जनाएको छ।
बैठकले संगठनात्मक व्यवस्थापनअन्तर्गत शिखा चेम्जोङलाई नगर कोषाध्यक्षमा अनुमोदन गरेको छ। पार्टीको सूचना तथा सञ्चार व्यवस्थापनलाई व्यवस्थित बनाउन नेपाली कांग्रेस धरानको नाममा रहेका फेसबुक तथा फेसबुक पेजलाई नगर समितिको आधिकारिक सामाजिक सञ्जालका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ। अब नगर समितिले तोकेको अधिकारीलाई मात्र एडमिन तथा पासवर्ड उपलब्ध गराइनेछ।
सभापति राई २०८३ असोज ६ गते सर्वसम्मत निर्वाचित हुनु भएकाे थियाे ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!