धरान / पूर्व–पश्चिम राजमार्गमा सप्तरी र सुनसरीलाई जोड्ने कोशी ब्यारेजको विकल्पका रूपमा सप्तकोशी नदीमा नयाँ पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ । सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म जोड्ने प्रस्तावित पुल तथा सडक निर्माणका लागि करिब ४३ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ ।

सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार विसं २०७८ मा तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० का आधारमा आयोजना अघि बढाउन लागिएको हो । एसियाली विकास बैङ्क ९एडिबी० को सहयोगमा निर्माण गर्ने प्रस्ताव गरिएको यो आयोजना सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी करिब १४ किलोमिटर घट्ने अनुमान गरिएको छ ।

प्रस्तावित योजनाअनुसार सप्तकोशी नदीमा दुई हजार ८६० मिटर लामो पुल र करिब ४३ किलोमिटर सडक निर्माण गरिने छ । पुलसँगै पहुँच सडक तथा आवश्यक अन्य पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले आयोजनाको लागत ठूलो हुने देखिएको विभागले जनाएको छ ।

निर्देशक ढकालका अनुसार आयोजनाको प्राविधिक तयारी र आवश्यक प्रक्रियागत काम अघि बढिरहेको छ । आयोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिने भएकाले वातावरणीय तथा कानुनी स्वीकृतिको प्रक्रिया टुङ्ग्याउन बाँकी छ । उक्त प्रक्रिया पूरा भएपछि निर्माण सुरु हुने मिति र आयोजना सम्पन्न गर्ने समयसीमा निर्धारण गरिने उहाँले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गमा रहेको कोशी ब्यारेज पूर्वी नेपाललाई देशका अन्य भागसँग जोड्ने प्रमुख मार्ग हो । सन् १९६२ मा निर्माण भएको ब्यारेजको पुलको आयु ५० वर्ष रहेको निर्माण कम्पनीले उल्लेख गरेको थियो । निर्माण भएको करिब ६४ वर्ष बितिसक्दा पनि यही पुलबाट दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन आवतजावत गर्दै आएका छन् । पुल पुरानो हुँदै गएको र सवारी चाप बढ्दै गएकाले वैकल्पिक पुल निर्माणको आवश्यकता देखिएको हो ।

विशेषगरी वर्षायाममा कोशी नदीमा पानीको बहाव बढ्दा ब्यारेजबाट आवतजावत गर्ने सवारीसाधन र स्थानीयवासीले जोखिम तथा असहजता भोग्नुपर्ने अवस्था छ । नयाँ पुल निर्माण भएमा कोशी नदी पार गर्न ब्यारेजमा निर्भर रहनुपर्ने अवस्था कम हुने र पूर्व–पश्चिम राजमार्गको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

प्रस्तावित आयोजनाको कार्यान्वयनमा वातावरणीय पक्ष प्रमुख चुनौतीका रूपमा देखिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । यहाँ दुर्लभ वन्यजन्तु, जलचर तथा विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । पुल र पहुँच सडक निर्माण गर्दा वन्यजन्तुको बासस्थान, प्राकृतिक प्रणाली र सिमसार क्षेत्रमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गरी आवश्यक स्वीकृति लिनुपर्ने हुन्छ ।

यसअघि प्रस्तावित सडकको रेखाङ्कनलाई लिएर आरक्षमा पर्न सक्ने प्रभावबारे प्रश्न उठेको सार्वजनिक विवरणमा उल्लेख छ । सडक विभागले कोशी ब्यारेजभन्दा करिब १० किलोमिटर उत्तरतर्फबाट सडक र पुल निर्माण गर्ने विकल्प अघि सारेको थियो । आरक्षका अधिकारीहरूले समेत वैकल्पिक स्थान सुझाएको विवरण सार्वजनिक भएको छ । त्यसैले आयोजनाको प्राविधिक तयारीसँगै वातावरणीय र कानुनी विषयको टुङ्गो लगाउनुपर्ने देखिएको छ ।

सडक विभागले सुनसरीको पकली हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षको माथिल्लो क्षेत्रबाट आरक्षलाई असर नपर्ने गरी वैकल्पिक सडक र पुल निर्माण गर्ने अवधारणासहित डिपिआर तयार पारेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको पहलमा उक्त क्षेत्रमा पुल निर्माणको तयारी अघि बढाइएको विभाग स्रोतले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको आवश्यकता महसुस भएपछि कोशी ब्यारेजको विकल्प खोज्ने क्रममा कञ्चनपुर–राजाबास सडक तथा पुलको अवधारणा अघि सारिएको थियो । चतरा क्षेत्रमा पुल निर्माण हुँदा मधेश क्षेत्रको व्यापारिक तथा यातायात चहलपहल प्रभावित हुन सक्ने तर्कसहित कञ्चनपुर–राजाबास क्षेत्रलाई प्राथमिकता दिइएको विभाग स्रोतको भनाइ छ ।

विभागले कोरियन परामर्शदाता कम्पनी केईसीसी र नेपाली परामर्शदाता कम्पनी स्वाइल टेस्टलाई संयुक्त रूपमा डिपिआर तयार पार्ने जिम्मेवारी दिएको थियो । परामर्शदाता कम्पनीले ४४।२ किलोमिटर लामो चार लेनको वैकल्पिक सडक निर्माण गर्न सुझाव दिएको थियो । उक्त सडक सुनसरीको पकली हुँदै राजाबास, भागलपुर, मानजोरा, बुद्धनगर, रामपुरको तल्लो क्षेत्र र कालिन्चोक हुँदै सप्तरीको कञ्चनपुरसम्म पुग्ने गरी प्रस्ताव गरिएको थियो ।

डिपिआरमा कोशी नदीमाथि दुई हजार ८६० मिटर लामो पुलसहित ३४ वटा पुल निर्माण गर्नुपर्ने उल्लेख छ । प्रतिवेदनअनुसार कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड रुपियाँ र सडक निर्माणका लागि २० अर्ब ६३ करोड रुपियाँ लागत अनुमान गरिएको थियो । दुवै संरचनाको लागत जोड्दा ४२ अर्ब ३७ करोड रुपियाँ पुग्ने देखिन्छ ।

कोशी ब्यारेज आसपासको क्षेत्रबाट नयाँ पुल निर्माण गर्दा आरक्षमा पर्न सक्ने प्रभाव र लागतसमेत बढ्ने भएकाले राजाबास क्षेत्रबाट पुल निर्माण गर्ने विकल्प अघि सारिएको विभागको भनाइ छ । सडकको रेखाङ्कन परिवर्तन गरी माथिल्लो क्षेत्रबाट वैकल्पिक मार्ग निर्माण गर्न सके हालको कोशी ब्यारेजको मर्मतसम्भार गरेर पनि सञ्चालन गर्न सकिने विभागले जनाएको छ ।

करिब ४३ अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजना कार्यान्वयनमा आए पूर्वी नेपालको यातायात सम्पर्कमा सुधार हुनुका साथै पूर्व–पश्चिम राजमार्गको दूरी छोटिने अपेक्षा गरिएको छ । यद्यपि वातावरणीय स्वीकृति, वित्तीय स्रोत र निर्माणको समयसीमा निश्चित भएपछि मात्रै आयोजनाले मूर्त रूप लिनेछ । ब्लाष्ट