हङकङ । रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले हङकङमा ‘दशैँ–तिहार फेस्ट २०८३’ आयोजना गरिएको छ। नेप्लिज आर्ट एन्ड इन्टरटेनमेन्ट कम्युनिटी हङकङको आयोजनामा अक्टोबर १८ आइतबार जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टको हलमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
‘एक भई हातमा हात मिलाएर पुनर्निर्माण र परिवर्तनमा सहभागी हौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा हङकङमा रहेका नेपाली कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा पाँच सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
यसै वर्ष स्थापना भएको संस्थाको यो पहिलो कार्यक्रम भएको संस्थाका अध्यक्ष सेनिस गुरुङले बताउनुभयो। हङकङमा रहेका नेपालीको क्षमता अभिवृद्धि गर्ने, उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने र सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले संस्था स्थापना गरिएको उहाँले बताउनुभयो।
हङकङमा विभिन्न क्षेत्रमा प्रतिभाशाली नेपाली रहे पनि अवसरको अभावमा उनीहरूको क्षमता ओझेलमा परेको उहाँले बताउनुभयो। त्यस्ता प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सम्भावना भएका व्यक्तिलाई प्रोत्साहन गर्ने संस्थाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
पहिलो कार्यक्रममा सांगीतिक क्षेत्रका युवालाई समेटिएको भए पनि आगामी दिनमा विभिन्न क्षेत्रमा क्षमता भएका व्यक्तिलाई प्रोत्साहन गर्दै संस्थामा समेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा हङकङमा सक्रिय नेपाली ब्यान्ड अशान्त एन्ड साजन, उत्पत्ति र द मेल रकले सांगीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी नेपालीद्वारा सञ्चालित ग्यालेक्सी डान्स स्टुडियो, सिभाइन डान्स स्टुडियो र संयुक्त डान्स सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमबाट संकलित रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो। बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने र पुनर्निर्माणमा योगदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा धरान हङकङ मञ्चका अध्यक्ष संजोक राई, बास्केटबलका पूर्वराष्ट्रिय प्रशिक्षक तथा धरान हङकङ मञ्चका सचिव विकास चाम्लिङ राई, धरान युथ एसोसिएसनका अध्यक्ष अमोद तुलाधर, युवा नेता अर्जुन लिम्बू तथा युवा नेता एवं मञ्चका सदस्य आविष्कार लिम्बूलगायतको विशेष उपस्थिति रहेको थियो।
तस्बिर : विकास चाम्लिङ राई





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!