काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले बृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ । यसअघि मासिक २ हजार रुपैयाँ दिइदै आएको बृद्धभत्ता मासिक १ हजार रुपैयाँ बढाएर मासिक ३ हजार रुपैयाँ पुर्याइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०५१/२०५२ सालमा तत्कालीन अर्थमन्त्री स्व भरतमोहन अधिकारीले पहिलो पटक बजेटमा वृद्ध भत्ताको व्यवस्था गरेका थिए। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता कार्यक्रम लोकप्रिय भएको थियो।

सबैले मनमोहन अधिकारीलाई जनताको प्रधानमन्त्रीको संज्ञा दिएका थिए। तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्री अधिकारीद्वयले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिएका थिए।