धरान। नौलो पथ ब्याडमिन्टन क्लब धरान–१५ को आयोजनामा सञ्चालित दसैँ–तिहार विशेष बी–लेभल नगरस्तरीय डबल ब्याडमिन्टन प्रतियोगितामा सन्दीप राई र भुवन राईको जोडी विजेता बनेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा सन्दीप र भुवनको जोडीले सुरेश नेयोङ्हा र सन्तोष याङबाङको जोडीलाई २१–१७ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता जोडीले नगद १५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेको छ।

प्रतियोगितामा सुरेश नेयोङ्हा र सन्तोष याङबाङको जोडी दोस्रो भएको छ। उपविजेता जोडीले नगद आठ हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ। तेस्रो र चौथो स्थान हासिल गर्ने जोडीले जनही चार हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन्।

फाइनल प्रवेशका लागि भएको पहिलो सेमिफाइनलमा सन्दीप र भुवनको जोडीले रणध्वज राई र बद्री कटुवालको जोडीलाई २२–२० र २१–१५ को सेटमा पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा सुरेश नेयोङ्हा र सन्तोष याङबाङको जोडीले राजन खिम्दुङ र अरुण मगरको जोडीलाई २१–१९, १३–२१ र १२–२१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो । 

प्रतियोगितामा ३८ जोडीको सहभागिता रहेको क्लबका कोषाध्यक्ष मनिष मगरले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीयस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदमार्फत आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

क्लबका अध्यक्ष दीपेन्द्र पराजुलीले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनु भयो । उहाँले यस्ता प्रतियोगिताले नयाँ खेलाडीलाई खेलप्रति आकर्षित गर्नुका साथै धरानमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।