धरान / धेरै गाउँपालिका तथा नगरपालिकाहरुका प्रमुखहरुले आफुले कार्यभार सम्हाल्नेवितिकै आफ्नो लागि सवारी किन्ने निर्णय गरेका छन् । हिजोको दिनमा चप्पल लगाएर हिड्ने जनप्रतिनीधिहरुले कतिपय ठाउँमा महगो पजेरो किनेर जनताको नजरमा अलोप्रियसमेत भएका छन् । तर भोजपुरको विकट क्षेत्र आमचोक गाउँपालिकाका अध्यक्षले भने पहिलो निर्णय गाउँमा एम्बुलेन्स किन्ने गरे । मन्त्रालयदेखि भन्सारसम्म मिलाएर गएको असारमा टाटासुमोको एम्बुलेन्स गाउँमा भित्राएका छन् । उनले आफ्नो सुविधाका लागि भने होण्डा कम्पनिको बाईक किन्न गाउँ परिषद्बाट निर्णय गराए । उनी मुख्य मन्त्रि शेरधन राईको गृह गाउँका अध्यक्ष हुन् ।
उनी भन्छन् –‘हिजो म कुनै सुविधा भोग गर्दै आएको मान्छे थिईन । त्यसैले अहिलले मलाई कुनै उच्च सुविधाको जरुरत छैन् । एम्बुलेन्स अभावमा गाउँका सुत्केरी महिलाको निकै ज्यान गएको मैले आखाँले देखेको छु । त्यही भएर मेरो पहिलो निर्णय एम्बुलेन्स किन्ने भयो ।’ अन्य गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले सुविधा किन नलिएको भनेर भने तर पहिलो सुविधा जनताले पाउन भन्ने आफ्नो मान्यता रहेको उनी बताउछन् ।
उनले २०७४/२०७५ को बजेटमा अघिल्लो बर्षको भदौमा एम्बुलेन्स किन्ने भनेर गाउँ परिषद्मा प्रस्ताव लगेका थिए । विभिन्न प्रक्रिया मिलाउदा गत असारमा मात्र एम्बुलेन्स गाउँमा पुगेको छ । सोही परिषदबाट उनले आफ्नो लागि बाईक खरिद गर्न प्रस्ताव गरेका थिए । बाईक भने गत असोजमै खरिद गरे । थोेरै श्रोतलाई सदुपयोग गर्ने उनको नीति अनुसार उनी आफ्नो गाउँपालिका होन्डाका को १ व १४०९ नं।को बाईकमा हिड्छन् । उनको यो निर्णयले व्यथा लागेका सुत्केरी, रोगीहरु शहरमा उपचारका लागि एम्बुलेन्समा जान पाएका छन् । उनले १५ लाखमा एम्बुलेन्स ल्याएका हुन । गाउँपालिकालाई भोजपुर सदरमुकाम, धनकुटा र उदयपुर र खोटाङको राष्ट्रिय सडक सञ्जालले छोएको छ । तर पनि उनले अझै आफुलाई गाडी किन्ने योजना बनाएका छैनन् । ‘मेरो गाडी किन्ने योजना अझै छैन् । पाँच बर्षसम्ममा यहाँका १८ हजार ७ सय २० जनसंख्याका नागरिकलाई गाडी किन्ने हैसियतको बनाएर मात्र आफु गाडी चढ्छु ।’–गाउँपालिका प्रमुख राईले भने–‘मेरो ध्यान कृषी तथा पर्यटन विकासमा छ ।’
यहाँको समग्र विकासका लागि उनले एउटा जेसिवि र ट्याक्टर किन्नका लागि यस आर्थिक बर्ष २०७५/२०७६ बाट बजेट पारित गरिसकेका छन् । जेसिविका लागि ३५ लाख र ट्याक्टरका लागि १८ लाख बजेट विनियोजन गरेर टेण्डर प्रक्रिया शुरु गरिएको उनले बताए ।
ग्रामिण विकासमा स्नाकोत्तर गरेका राई आफ्नो पढाई अनुसार गाउँको विकासका लागि गुरु योजना नै बनाएर अघि बढेका छन् । तत्कालिन माओवादी केन्द्रबाट अध्यक्षको टिकट पाएका राई जिल्ला सचिवालय सदस्य छन् । राजनीतिमा राम्रो सम्भावना बोकेका राईले गाउँका नागरिकको हितमा महत्वपूर्ण कामहरु गरे पछि निकै लोकप्रिय समेत भएको स्थानीय इश्वारमान कार्की बताउछन् । गाउँपालिकाले राम्रो भिजन भएको प्रमुख पाएको उनको भनाई छ ।