धरान । नेपाली आख्यान र गैर आख्यान साहित्यमा योगदान पुर्‍याएका दुई कृतिलाई यस वर्षको विमल गुरुङ कृति पुरस्कार संयुक्त रूपमा प्रदान गरिने भएको छ । भूपिन खड्काको निबन्ध कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबार बसेको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरेको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले जानकारी दिनुभयो । पुरस्कारको राशी दुई लाख रुपियाँ र ताम्रपत्र रहेको छ ।

पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेका लेखक, कवि र साहित्यकारका नेपाली भाषामा प्रकाशित ५२ कृति प्राप्त भएका थिए । ती कृतिमध्ये निर्णायक मण्डलले उत्कृष्ट १० कृति छनोट गरेको थियो । छनोटमा परेका कृतिको मूल्याङ्कनपछि यस वर्ष दुई निबन्ध कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मेन्याङ्बोले बताउनुभयो ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकलाई आगामी कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिनेछ । लाइरेनी सौन्दर्य रानाको दोश्रो कृति हो । उहाँ हङकङमा बसेर नेपाली साहित्यमा योगदान पु¥याइरहनु भएको छ । 

सोही अवसरमा पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोद्वारा सम्पादन तथा संयोजन गरिएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ कविता सङ्ग्रह पनि लोकार्पण गरिने पुस्तकालयका सचिव चन्द्र गुरुङले जानकारी दिनुभयो । सङ्ग्रहमा कवि विमल गुरुङका प्रतिनिधि कविताहरू समेटिएका छन् ।

कविता महोत्सवका अवसरमा यसअघि छनोट गरिएका उत्कृष्ट १० कवितामध्येबाट विजयी तीन कविलाई पनि पुरस्कृत गरिनेछ । पुस्तकालय सञ्चालक समितिका सदस्य राज माङ्लाकका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) की सुनसरी प्रतिनिधि सङ्गीता राई ९स्वर्णिम० लाई प्रदान गर्ने निर्णयसमेत गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

कवि विमल गुरुङको स्मृतिमा स्थापित पुस्तकालयले साहित्यिक कृतिको सम्मान, कविता प्रतियोगिता तथा साहित्यिक गतिविधिमार्फत नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्दै आएको छ । वार्षिक रूपमा प्रदान गरिने कृति पुरस्कार र राष्ट्रिय कविता महोत्सवले स्रष्टालाई प्रोत्साहन गर्नुका साथै साहित्यिक सिर्जना र विमर्शलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।