वासिङ थर्पु (भोजपुर) / कुनै समय पहाडी गाउँघरमा मानिस धनी र गरिब हुनुको पहिचान खेतबारीमा कति मुरी अन्न फल्छ भन्ने कुराले निर्धारण गथ्र्यो । विशेषगरी ५० र ६० को दशकतिर जसको आँगनमा मकैको ठूलो र लामो थाङ्ग्रो हुन्थ्यो, समाजमा उसको शान अर्कै हुन्थ्यो । गाउँघरमा मकैको थाङ्ग्रो केवल अन्न भण्डारण गर्ने थलो मात्र थिएन, त्यो त समृद्धिको बलियो मानक र परिवारको मिहिनेतको प्रतीक पनि थियो ।

भोजपुरको आमचोक गाउँपालिका–१ सिमनतुवा (साविक वासिङ थर्पु गाविस वडा नं. १-मा सुतार कार्कीहरूको बाक्लो र गुलजार बस्ती थियो । पशुपति कार्की, नीरकुमार कार्की (पञ्चकन्ये काका), अमरबहादुर कार्की (मताने काका) र डम्बरबहादुर कार्की, दुर्गाबहादुर कार्की, डिकबहादुरलगायतका घरआँगनमा १२ चोकसम्मका विशाल मकैका थाङ्ग्रा उभिएका हुन्थे । वर्षभरि खाएर बाँकी रहेको मकै बिक्री गरी हाटबजारबाट नुन, तेल र अन्य घरायसी सरसामान खरिद गर्ने परम्परा त्यस क्षेत्रको मुख्य आर्थिक आधार थियो । कृषि र पशुपालनमा सम्पूर्ण गाउँ नै झुम्मिएको हुन्थ्यो ।

हरेका गोठमा १–२ वटा लैना भैंसी, हलगोरु, खोरमा भेडाबाख्रा सबैकोमा हुने गरेको थियो । कसको महस्सुर गोरु, बलियो लैना भैंसी हुन्छ, त्यो परिवार सम्पन्न मानिन्थ्यो । तर, समयको चक्रसँगै आज वासिङथर्पुको त्यो रौनक र उल्लास इतिहासका पानामा सीमित बनेको छ । त्यो बेलाको ‘हुनेखाने र हुँदाखाने’ मानक अचेल फेरिएको छ ।

खण्डहर बन्दै पुराना घर, रित्तिँदै बस्ती

माथि उल्लेख गरिएकामध्ये अहिले डम्बरबहादुर, दुर्गाबहादुर बाहेकका अधिकांश कार्की परिवारका सन्तानले गाउँ छाडिसकेका छन् । गाउँका ती अग्ला र सुन्दर घरहरू अहिले खण्डहरमा परिणत भएका छन् । आँगनका १२ चोकका ती ठूला थाङ्ग्राहरू बिलाइसकेका छन् । लगभग डेढ सय घरपरिवारको हराभरा बस्ती रहेको यस सिमन्तुवामा अहिले मुस्किलले ५० देखि ६० घर मात्र बाँकी छन् । बाँकी सबै परिवार अलिकति सेवासुविधा र सुगम जीवनको खोजीमा मधेस (तराई) तिर ओर्लिएका छन् ।

पूर्वी पहाडका धेरै ग्रामीण बस्ती भोजपुरको वासिङ जस्तै अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचयजस्तै बनेको छ । 

house-debendra

चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् । भोजपुर र खोटाङको सिमानामा पर्ने भञ्ज्याङ खर्कमा १५ वर्षअघि घना बस्ती बसेको थियो । यतिबेला २५–३० घरमध्ये ८–९ घरमा मात्र बसोबास छ । अरू घरका सुविधा खोज्दै अन्यत्र लागेको स्थानीय गोविन्द कार्कीले बताउनु भयाे । 

यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ । युवापुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ । खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ । 

“पहिले–पहिले गाउँभरि मकैका थाङ्ग्रा हुन्थे । आँगनमा कसको थाङ्ग्रो कति ठूलो भन्ने होडबाजी नै हुन्थ्यो । बिक्री गरेर वर्षभरिको खर्च पु¥याइन्थ्यो । अहिले न घरमा मान्छे छन्, न त आँगनमा थाङ्ग्रो नै । हेर्दाहेर्दै बस्ती मरुभूमिजस्तै भयो”–स्थानीय दिनेश विष्टले भन्नु भयाे ।

samir

गाउँमा बाँकी रहेका घरहरूमा पनि युवापुस्ता भेट्न गाह्रो छ । गाउँमा बालबालिका र वृद्धवृद्धाहरू मात्रै देखिन्छन् । युवाहरूको ठूलो हिस्सा वैदेशिक रोजगारीका लागि मुग्लान पसेको छ भने उच्चशिक्षा अध्ययनका लागि सहर झरेकाहरू उतै घरजम गरेर बसिसकेका छन् । डम्बरबहादुर कार्कीका ३ भाइ छोरा छन् । उनीहरू अहिले गाउँमा छैनन् । कार्की बूढाबूढी मात्र परम्परा धान्न एउटा लैनो भैंसी पालेर गाउँमा बसेका छन् । उहाँ २०७४ सालमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचितसमेत हुनु भएकाे थियाे । द्वन्द्वकालमा र सङ्घीयता आएपछि  पहाडबाट बसाइँ सराइको क्रम धेरै बढेको उहाँको भनाइ छ । उहाँ वडाध्यक्ष भएको समयमा ग्रामीण बस्तीमा सडक पुग्यो । झन् सडक पुगेपछि गाउँमा भएका सरसामान बोकेर तराई झार्न सजिलो भएको उहाँको अनुभव छ । 

बाँझो जमिन र फेरिएको कृषिशैली

गाउँमा काम गर्ने ऊर्जाशील जनशक्तिको अभाव भएपछि ७० प्रतिशतभन्दा बढी कृषियोग्य जमिन अहिले बाँझै छाडिएको छ । पशुपालन र परम्परागत मकैखेती गर्ने गाउँमा कोही छैनन् । 

alaichi tipdai

“छोराछोरी पढ्न अनि कमाउन सहर र विदेशतिर गए, उतै बसे । अब यहाँ खेतबारी जोत्ने तागत कसैमा छैन । आँखैअघि बाउबाजेको खेतीयोग्य जमिन झाडी बनेको हेरेर बस्नुपरेको छ” डम्बरबहादुर कार्कीकी दिदी वेदमाया कार्कीले भन्नु भयाे “परम्परा धान्न थोरै बारीमा मकै लगाएका छौँ ।” मकैको सानो थाङ्ग्रो देखाउँदै उनले भनिन्, “यी यही हो, मकैको थाङ्ग्रो । पहिले १० चोकसम्मको थाङ्ग्रो हुन्थ्यो, अहिले ३ चोकको छ । भाइका छोराछोरीहरूका प्वाँख लागिहाले । सबै तराईतिरै छन् ।”

alaichhi selfee

यद्यपि केही स्थानीयले कृषि प्रणालीमा परिवर्तन ल्याउने प्रयास भने जारी राखेको पाइएको छ । डम्बरबहादुर र दुर्गाबहादुर कार्कीले विगतमा मकैखेती हुने बारीमा अहिले अलैँची र किवीखेती विस्तार गरेका छन् । व्यावसायिकतातर्फ गाउँ ढल्कन खोजे पनि श्रमशक्तिको अभाव भने उस्तै छ । उनीहरूले २५–३० वटा खसीबाख्रा पनि खोरमा पालेका छन् ।

परम्परा जोगाउने सानो प्रयास

durga karki famaly

आधुनिकता र बसाइँसराइको तीव्र लहरका बीच पनि दुर्गाबहादुरले आफ्नो पुख्र्यौली पेसा र पहिचानलाई बिर्सेका छैनन् । हजुरबुबा–बाबुको पालाको ठूलो वैभव त अब रहेन, तर उनले परम्पराको निरन्तरतास्वरूप आफ्नो आँगनमा ६–७ चोकको मकैको थाङ्ग्रो अझै जीवितै राखेका छन् । गाउँभरि मकैका थाङ्ग्रा सुकिरहेका बेला उनको आँगनमा ठडिएको यो सानो थाङ्ग्रोेले विगतको सम्झना दिलाउने उनी बताउँछन् । उहाँका खोरमा २७ वटा खसीबाख्रा छन् । छ भाइ छोराहरूमध्ये एक भाइ छोरो मनोजले उहाँको कर्मलाई सहयोग गरिरहेका छन् । भेटेरिनरी पढेका मनोज पनि अवसरको खोजीमा विदेश जाने तयारीमा छन् । “एउटा छोरा साथमा छ । ऊ पनि कहिले हिँड्छ, अनि बूढाबूढी मात्रू रहन्छौँ । अब पुराना परम्परा धान्न गाउँमा गाह्रो छ”–कार्कीले भन्नेनु भयाे । 

बाबुबाजेको पालाको त्यो पहिचान पूरै नमेटियोस् भनेरै भए पनि सानै आकारको मकैको थाङ्ग्रो हालेर पुख्र्यौली पेसालाई जोगाउने कोशिस गरिरहेको उनको भनाइ छ । नेपालका पहाडीभेगका अधिकांश गाउँहरू अहिले वासिङ थर्पुजस्तै बसाइँसराइ र युवाविहीनताको समस्याबाट गुज्रिरहेका छन् । उब्जाउ जमिनहरू झाडीमा परिणत भइरहँदा र रैथाने प्रविधिहरू ओझेल पर्दा हाम्रा समृद्ध परम्परा र ग्रामीण अर्थतन्त्र भने दिनानुदिन सङ्कटमा पर्दै गएका छन् ।

makai

नेपालमा ५ लाख पहाडका घर खाली 

नेपालमा बस्नयोग्य करिब ५ लाख घर खाली भएको सरकारी तथ्याङ्क रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार एउटा परिवारमा औसतमा ४ जना व्यक्ति छन् । यस हिसाबले झण्डै २१ लाख अर्थात् मोरङ र सुनसरी जिल्लाका जनसङ्ख्या सबै मान्छे अटाउने घरहरू रित्तै छन् । 

राष्ट्रिय जनगणना २०७८ ले बसोबास गर्नयोग्य ४ लाख ७२ हजार ५ सय १६ वटा घर खाली भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । यो पाँच वर्षको अवधिमा पहाडमा अरू केही लाख घरहरू खाली भएका छन् । यो क्रम रोकिएको छैन । औसतमा एउटा घरको लगानी डेढ लाख हिसाब गर्ने हो भने पनि करिब ७० अर्बभन्दा बढीका भौतिक संरचना माटोमा मिलिरहेको छ । 

आमचोक–१ मा स्व. अमरबहादुर कार्कीको काठैकाठले बनेका तीनवटा घर २०५० अघि नै १० लाखभन्दा बढी खर्च गरेर बनाइएको धरानमा बस्दै आएका उनका छोरा विश्वराम कार्कीले बताए । एउटा घर लडिसेकको छ भने दुईवटा जीर्ण अवस्थामा भएको उनका परिवारले जनाएका छन् । यस्तै धरानमै बस्दै आएका बमबहादुर कार्कीका पनि दुईवटा काठैकाठले बनेका घर जीर्ण अवस्थामा छन् । इटहरी बसाइँ सरी आएका पशुपति कार्कीको घर पनि ठूलो लगानीको रहेको स्थानीय बताउँछन् । हाल उक्त घर पनि प्रयोगविहीन भएको छ ।

२०१८ सालको जनगणनामा ६५ प्रतिशत मान्छे बस्ने पहाड र हिमालमा अहिले ४६ प्रतिशत जति मान्छे रहेको तथ्याङ्क रहेको छ । त्यसबेला करिब ३५ प्रतिशत मान्छे बस्ने तराईमा अहिले ५४ प्रतिशत जनसङ्ख्या पुगेको छ । पहाड र हिमालतिर २००९ देखि २०६० को दशकमा बनेका धेरै घरहरू रित्तिएको पाइन्छ । 

बाबुआमा गाउँमा, छोराछोरी सहरमा 

धेरैले २०६५ पछि गाउँ छाडेका छन् । केही गाउँ छाड्न नसकेकाहरूका पनि छोराछोरीहरू भने गाउँमा भेटिँदैनन् । भोजपुर आमचोकका डम्बरबहादुर कार्की, दुर्गाबहादुर कार्की, आमचोक खामताङका ईश्वरमान कार्कीलगायतका श्रीमान् श्रीमती मात्र गाउँमा छन् । छोराछोरी सबै सहरमा नै बसोबास गर्छन् । “गाउँघरमा यतिबेला मलामी जुटाउन समस्या छ । कृषिकर्म गर्ने जनशक्ति छैन । धेरै परिवारले तराईबाट चामल ल्याएर खान्छन्”–ईश्वरमान कार्कीले भने । प्रत्येक घरमा बूढाबूढी मात्र रहेको डम्बरबहादुर बताउँनु हुन्छ ।

पहाडलाई पुनः गुल्जार कसरी बनाउने ? 

कृषि विशेषज्ञहरूका अनुसार परम्परागत अन्नबालीमा मिहिनेत धेरै र प्रतिफल कम हुने भएकाले युवाहरू आकर्षित हुन सकेका छैनन् । अब पहाडमा उही पुरानै शैलीको मकै वा कोदो खेती गरेर मानिसलाई रोक्न सकिँदैन । पहाडको माटो र हावापानी ‘हाई–भ्याल्यु’ कृषिजस्तै अलैँची, किवी, ओखर, एभोकाडो, सुन्तला, र जडीबुटी खेतीलाई व्यावसायिक बनाउनुपर्ने कृषिविज्ञहरूको सुझाव रहेको छ । 

alaichhi kheti

गाउँमा काम गर्ने श्रमशक्तिको अभाव भइरहँदा छरिएर रहेका साना बारीमा खेती गर्नु अव्यावहारिक बनेको छ । भू–राजनीति तथा समाजशास्त्रका अध्येताहरूका अनुसार बाँझो जमिनलाई त्यसै छाड्नुको साटो स्थानीय सरकारले भू–उपयोग नीति ल्याएर जमिनको चक्लाबन्दी वा करार खेतीको मोडल अपनाउनु पर्छ । वैदेशिक रोजगारीबाट फर्केका वा स्थानीय युवाहरूको समूह÷सहकारीलाई ठूलो क्षेत्रफलमा कृषि–फार्म चलाउन प्रोत्साहन र प्रविधि उपलब्ध गराउनुपर्ने आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई बताउँछन् । 

गाउँमै उच्चस्तरको विद्यालय, भरपर्दो अस्पताल र खानेपानी÷सिँचाइको सुविधा नपुगेसम्म आर्थिक उपार्जन मात्रैले मानिसलाई गाउँमा अड्याउन सकिँदैन । सेवा–सुविधा एकीकृत ठाउँमा दिने र बाँकी डाँडाहरूलाई कृषि तथा वन क्षेत्र बनाउने नीति राज्यले ल्याउनु पर्ने उनको सुझाव रहेको छ । 

alaichhi selfee

विदेशमा सीप र पुँजी कमाएर फर्केका युवाहरूलाई पहाडमै उद्यमशीलतामा जोड्न ‘सहुलियतपूर्ण ऋण’,  ‘प्रविधि अनुदान’ र ‘कर छुट’ जस्ता स्पष्ट नीति ल्याउन सकिन्छ । पहाडको कृषि र प्राकृतिक सौन्दर्यलाई जोडेर ‘इको–टुरिजम’ तथा ‘होमस्टे’ सञ्चालन गर्नसके पर्यटन व्यवसायले ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याउन सकिन्छ । आमचोकजस्ता ऐतिहासिक र परम्परागत पहाडी बस्तीहरूलाई बचाउन अब पुरानै ढर्राको विकास मोडलले काम गर्दैन । आधुनिक प्रविधि, व्यावसायिक अर्गानिक कृषि, एकीकृत पूर्वाधार र पर्यटनलाई एकसाथ अघि बढाउनसके मात्र पहाडका रित्तिएका थाङ्ग्राहरूमा फेरि समृद्धि भर्न सकिन्छ । 

bakhra

गाउँघरलाई गुल्जार बनाउन र पछिल्लो बसाइँसराइको क्रमलाई रोक्न बाँझो राखिएको जमिन ३ वर्षभित्र उपयोग गर्नुपर्ने नत्र सरकारीकरण गर्ने सरकारले नीति ल्याए धेरै मान्छे सहरबाट गाउँ फर्कने पूर्व वडाध्यक्षसमेत रहेका डम्बरबहादुरको भनाइ रहेको छ । From Blast daily

kibi