काठमाडौँ /  प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम छ ।

त्यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुहुनेछ । प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नुहुनेछ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारले अवलम्बन गरेका नीतिगत व्यवस्था तथा थप लगानी आकर्षित गर्न गरिएका प्रयासबारे जानकारी गराउनुहुनेछ । साथै, भारतीय व्यवसायीका चासो र सरोकार सुन्ने कार्यक्रम पनि रहेको छ । यसले दुवै देशका व्यवसायीबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनुहुनेछ ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।