धरान । विश्वका विभिन्न युद्धमा वीरगति प्राप्त गरेका गोर्खाली सैनिकको योगदान र इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले धरानमा पाँचौँ गोर्खा ट्रेल ब्लेजर १० के रन प्रतियोगिता आयोजना हुने भएको छ। गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा आगामी माघ २ गते शनिबार हुने प्रतियोगितामा ७ सय खेलाडी सहभागी गराउने लक्ष्य राखिएको छ।
शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको तयारीबारे जानकारी दिएको छ । प्रतियोगिता धरान–१८ स्थित रत्न चोकबाट सुरु भई धरान–२० विष्णुपादुकास्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा पुगेर समापन हुनेछ। बिहान ६ः३० बजे सुरु हुने दौड बिहान ९ बजेसम्म सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्देश्य दौड प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित छैन। प्रथम र दोस्रो विश्वयुद्धलगायत विभिन्न युद्धमा ज्यान गुमाएका गोर्खाली सैनिकको त्याग, वीरता र योगदानको स्मरण गर्नुका साथै उनीहरूको इतिहास भावी पुस्तासम्म पुर्याउनु रहेको अध्यक्ष राईले बताउनुभयो।
गोर्खाली सैनिकको इतिहास नेपालको राष्ट्रिय पहिचानसँग मात्र नभई विश्वका विभिन्न मुलुकको सैन्य इतिहाससँग पनि जोडिएको छ। सन् १८१४ देखि १८१६ सम्म नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको युद्धपछि गोर्खाली सैनिकको ब्रिटिस सेनामा भर्ती हुने क्रम सुरु भएको इतिहास छ। सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवालाई ब्रिटिस सेनामा भर्ती गर्ने प्रक्रिया अघि बढेको थियो। त्यसयता गोर्खाली सैनिकले ब्रिटिस सेनामार्फत विश्वका विभिन्न युद्ध तथा सैन्य अभियानमा सहभागिता जनाउँदै आएका छन्।
दोस्रो विश्वयुद्धका क्रममा मात्रै एक लाख १० हजारभन्दा बढी गोर्खाली सैनिक विभिन्न मोर्चामा खटिएको राष्ट्रिय सेना सङ्ग्रहालय बेलायतको ऐतिहासिक अभिलेखमा उल्लेख छ। पश्चिमी मरुभूमि, इटाली, ग्रीस, मलाया, सिङ्गापुर र बर्मालगायतका क्षेत्रमा गोर्खाली सैनिकले युद्ध लडेका थिए। उक्त युद्धमा करिब ३० हजार गोर्खाली सैनिक मारिएका वा घाइते भएका थिए।
भारत स्वतन्त्र भएपछि सन् १९४७ मा ब्रिटिस र भारतीय सेनाबीच गोर्खा सैनिकको विभाजन भएको थियो। सन् १९४८ मा चारवटा गोर्खा राइफल्स रेजिमेन्ट ब्रिटिस सेनामा समाहित भए भने अन्य छवटा रेजिमेन्ट भारतीय सेनामा रहे। ब्रिटिस सेनामा रहेका गोर्खाली सैनिकले त्यसपछि मलेसिया, हङकङलगायतका विभिन्न क्षेत्रमा सेवा गरे।
हङकङसँग गोर्खाली सैनिकको सम्बन्ध पनि लामो र ऐतिहासिक रहेको छ। सन् १९४८ देखि गोर्खाली सैनिक हङकङमा ब्रिटिस सेनाको सुरक्षा जिम्मेवारीमा खटिन थालेका थिए। सन् १९७१ मा गोर्खा ब्रिगेडको मुख्यालय मलेसियाबाट हङकङ सारिएको थियो। त्यसपछि सन् १९९७ सम्म गोर्खाली सैनिक हङकङको सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण हिस्सा बनेका थिए।
हङकङमा सीमा सुरक्षा, गैरकानुनी आप्रवासन नियन्त्रण तथा आवश्यकताअनुसार शान्तिसुरक्षा कायम गर्न गोर्खाली सैनिक परिचालन गरिन्थे। त्यहाँ गोर्खाली सैनिकका विभिन्न इन्फ्यान्ट्री, इन्जिनियरिङ, सञ्चार तथा यातायातसम्बन्धी सैन्य एकाइसमेत तैनाथ थिए। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि ब्रिटिस गोर्खा सैनिकको त्यहाँको सैन्य उपस्थिति अन्त्य भएको थियो।
गोर्खाली सैनिकको यही ऐतिहासिक योगदानलाई संरक्षण र सम्मान गर्ने उद्देश्यले हङकङमा पुर्खा दिवस मनाउने परम्परा सुरु भएको छ । सन् २००४ मा हङकङस्थित गोर्खा समाधिस्थलको सरसफाइ र संरक्षण अभियानबाट पुर्खा दिवसको सुरुआत भएको थियो । त्यसपछि अप्रिल ५ लाई पुर्खा दिवसका रूपमा मनाउन थालिएको हो। हङकङबाट सुरु भएको यो दिवस अहिले बेलायत, ब्रुनाई र नेपाललगायतका मुलुकमा रहेका गोर्खाली समुदायले पनि मनाउँदै आएको गोरखा सिमेट्रीज ट्रष्ट हङकङका संस्थापक देवराज राईले बताउनु भयो ।
हङकङको सान टिनस्थित गोर्खा समाधिस्थलमा हङकङमा सैन्य सेवामा रहँदा मृत्यु भएका करिब ५ सय गोर्खाली सैनिकको समाधि रहेको उहाँले बताउनु भयो । उक्त समाधिस्थल गोर्खाली सैनिकको इतिहास, त्याग र योगदानको महत्त्वपूर्ण ऐतिहासिक धरोहरका रूपमा रहेको छ।
गोर्खाली पुर्खाको इतिहास, संस्कृति र योगदान संरक्षण गर्ने उद्देश्यले सन् २००६ मा हङकङमा गोर्खा सिमेट्रीज ट्रस्ट स्थापना भएको थियो। नेपालमा भने सन् २०१८ मा संस्था स्थापना भएपछि विभिन्न स्मृति तथा सम्मानका कार्यक्रम आयोजना हुँदै आएका छन्। संस्थाले दोस्रो विश्वयुद्धका जीवित योद्धाहरूलाई सम्मान गर्दै आएको छ। हालसम्म दोस्रो विश्वयुद्धका १० जना जीवित योद्धा र एक मात्र जीवित भिक्टोरिया क्रस प्राप्तकर्ता रामबहादुर बेघा लिम्बूलाई सम्मान गरिसकेको अध्यक्ष राईले जानकारी दिनुभयो।
धरानमा सन् २०२३ देखि रत्न चोकदेखि ब्रिटिस गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर दौड आयोजना गर्न थालिएको हो। गत चैत १४ गते सम्पन्न चौथो संस्करणमा पनि ७ सय खेलाडी सहभागी भएका थिए। पाँचौँ संस्करणमा पनि खेलाडीको सहभागिता उत्साहजनक हुने आयोजकको अपेक्षा छ।
यसैबीच, पत्रकार सम्मेलनमा आयोजकले चौथो गोर्खा ट्रेल ब्लेजरको आयव्यय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार प्रतियोगिताबाट सात लाख ८९ हजार ७३५ रुपैयाँ आम्दानी भएको थियो भने नौ लाख २९ हजार रुपैयाँ खर्च भएको थियो। आम्दानीभन्दा एक लाख ३९ हजार २६५ रुपैयाँ बढी खर्च भएको देखिएको छ।
आयोजकका अनुसार सबैभन्दा बढी जर्सी खरिदमा चार लाख ५० हजार रुपैयाँ खर्च भएको थियो। प्रतियोगिता व्यवस्थापन र खेलाडीको नगद पुरस्कारमा ९०–९० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। त्यस्तै, खेलाडी, पत्रकार, स्वयंसेवक तथा अतिथिको खाजा–खानामा ७० हजार र स्वयंसेवक परिचालनमा ३० हजार रुपैयाँ खर्च भएको थियो। ब्यानर, प्रमाणपत्र, पदक तथा मायाको चिनोमा २० हजार र पुर्खा दिवस कार्यक्रममा २० हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।



















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!