-पूर्वाधार जीर्ण बन्दै जाँदा पारवहन लागत बढेको गुनासो, समस्या समाधान गर्ने सरकारी निकायको प्रतिबद्धता

धरान /  कोशी प्रदेशको राजधानी तथा देशकै प्रमुख औद्योगिक नगरी विराटनगरलाई पूर्ण क्षमताको ‘लजिस्टिक हब’ का रूपमा विकास गर्न निजी क्षेत्रले सरोकारवाला सरकारी निकायको ध्यानाकर्षण गराएको छ । एकीकृत भन्सार जाँच चौकी (आईसीपी), चार लेनको व्यापारिक मार्ग र कार्गो रेल सञ्जालजस्ता उच्चस्तरीय पूर्वाधार उपलब्ध भए पनि नीतिगत र व्यवस्थापकीय कमजोरीका कारण विराटनगरले अपेक्षित लाभ लिन नसकेको उद्योगी–व्यवसायीको निष्कर्ष छ ।

मोरङ उद्योग व्यापार संघले मङ्गलबार आयोजना गरेको ‘लजिस्टिक हब–विराटनगरका लागि पारवहन व्यवस्थापन तथा कार्गो रेल सञ्चालन’ विषयक बृहत् अन्तरक्रियामा व्यवसायीहरूले भारतको बन्दरगाहदेखि विराटनगरको नेपाल कस्टम्स यार्ड (एनसीवाई) सम्मको कार्गो रेल सेवा निर्बाध र नियमित सञ्चालन हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष अनिलकुमार साहले विराटनगर मुलुककै सक्षम लजिस्टिक हब बन्न पूर्ण योग्य रहे पनि अत्याधुनिक गोदामको अभाव, उच्च कार्गो ह्यान्डलिङ शुल्क र प्रक्रियागत ढिलाइका कारण कार्गो रेल नियमित हुन नसकेको बताउनुभयो । “पूर्वाधार छ तर त्यसको सही उपयोग हुन नसक्दा रेल्वे संरचनाहरू जीर्ण बन्दै गएका छन्,” अध्यक्ष साहले भन्नुभयो, “पारवहन लागत न्यूनीकरण र वैज्ञानिक व्यवस्थापनमार्फत नियमित रेल सञ्चालन गर्न सके राजस्व, रोजगारी र व्यावसायिक गतिविधिमा ठूलो फड्को मार्न सकिन्छ ।”

अन्तरक्रियामा सहभागी उद्योगीहरूले साना तथा मझौला व्यवसायीलाई समेत समेट्ने नीति ल्याउन सुझाव दिएका छन् । संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले थोरै परिमाणमा कन्टेनर आयात गर्ने उद्योगीसमेत लाभान्वित हुने गरी नीतिगत सुधार हुनुपर्ने बताउनुभयो । वाणिज्य उपाध्यक्ष बिकासकुमार बेगवानीले कार्गो सेवा शुल्क घटाइए उद्योगीदेखि आम उपभोक्तासम्मलाई राहत पुग्ने उल्लेख गर्नुभयो । त्यस्तै, महासचिव अमितकुमार सारडाले नेपाली र भारतीय कस्टम यार्डबीचको शुल्क तथा ढुवानी लागतको असमानता हटाई रेल सञ्चालनको स्पष्ट कार्यढाँचा बनाउनुपर्नेमा जोड दिनुभयो ।

व्यवसायीहरूको गुनासो र सुझाव सुनेपछि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले लजिस्टिक हब निर्माण र पारवहन सहजीकरणमा देखिएका समस्या समाधानका लागि आफ्नो निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक ई. आदर्श काफ्ले, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ र ट्रान्स नेपाल फ्राईट सर्भिसेसका प्रबन्ध निर्देशक मुकेशकुमार राठीले आ–आफ्नो निकायबाट भइरहेका प्रयास र प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो । छलफलमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, भन्सार एजेन्ट महासंघ, निजी क्षेत्रका संघ–संस्था तथा मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।