धरान / आयोजक स्वर्णिम फुटबल क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रङ्गशालामा आइतबार साँझ भएको क्वाटरफाइनल खेलमा स्वर्णिमले गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

स्वर्णिमको जितमा सजिना स्याङताङले तीन तथा समीक्षा मगरले दुई गोल गर्नु भयो । सजिना खेलको १२औँ, ६३औँ र अतिरिक्त समयको ९१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नु भयो । समिक्षाले खेलको ३७औँ र ८६औँ मिनेटमा गोल थनु भयो । 

खेलको सुरुदेखि नै आक्रामक देखिएको स्वर्णिमले गाईघाटलाई दबाबमा राखेको थियो। पहिलो हाफमा दुई गोल गरेको आयोजक टोलीले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकाल्यो।

प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच तेस्रो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा यसअघि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब काठमाडौंले भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टोली सहभागी छन्।