धरान / कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई र दक्षिण कोरियाका पूर्वराष्ट्रपति महामहिम मुन जे–इनबीच भेटवार्ता भएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले पूर्वराष्ट्रपति मुनसँग उहाँकै निवास प्योङसान गाउँमा भेटघाट तथा विचार आदानप्रदान गर्नुभएको हो ।
सन् २०१७ देखि २०२२ सम्म दक्षिण कोरियाको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका मुन जे–इनसँगको भेटमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
भेटका क्रममा नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको वर्तमान अवस्था तथा पुनर्निर्माणका विषयमा समेत कुराकानी भएको राईले जनाउनु भएको छ । दुई देशबीच आपसी सद्भाव, विश्वास र सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको उहाँले बताउनु भयो ।
भेटघाटका अवसरमा नेपाली मौलिक संस्कृति झल्काउने हिमालयन सिङ्गिङ बाउल पूर्वराष्ट्रपति मुनलाई मायाको चिनोस्वरूप प्रदान गरिएको थियो ।
भेटपछि संस्थापक मुख्यमन्त्रीले पूर्वराष्ट्रपति मुनसँगको भेटलाई महत्त्वपूर्ण र अविस्मरणीय अवसरका रूपमा लिएको उल्लेख गर्नुभएको छ । उहाँले नेपाल र कोरियाबीचको मित्रता, सांस्कृतिक सम्बन्ध तथा आपसी सहकार्य आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
नेपाल र दक्षिण कोरियाबीच श्रम, शिक्षा, संस्कृति तथा विकास सहकार्यका विभिन्न क्षेत्रमा सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको आपसी सम्बन्धलाई थप विस्तार गर्न उच्चस्तरीय भेटघाट र विचार आदानप्रदानलाई महत्त्वपूर्ण मानिएको छ ।
दक्षिण कोरियाको राजधानी सोलमा नोभेम्बर ४ देखि जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (International Conference of Asian Political Parties )(ICAPP) को १३औँ महासभामा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट उहाँ कोरियउा पुग्नु भएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै शान्ति, साझा समृद्धि, आपसी विश्वास र सहकार्यमा आधारित एसिया निर्माणका विषयमा पार्टीको धारणा प्रस्तुत गरेको उहाँले बताउनु भयो ।
दक्षिण कोरियाको विकास यात्रा, त्यस क्रममा सामना गर्नुपरेका चुनौती तथा छोटो समयमै हासिल गरेको आर्थिक र सामाजिक रूपान्तरणबारे कोरिया भ्रमणका क्रममा अध्ययन तथा अवलोकन गरिएको उहाँले जानकारी दिनु भयाे ।
भ्रमणका क्रममा न्यिदब Global Knowledge Exchange & Development Centre को प्रत्यक्ष अवलोकन गरी दक्षिण कोरियाको विकास मोडल, सरकारी नीति, योजना तथा समृद्धिको यात्राबारे जानकारी लिइएको हो ।
अवलोकनका क्रममा दक्षिण कोरियाले विकासका क्रममा अपनाएका नीति, योजना, दूरदृष्टि र निरन्तर प्रयासले छोटो समयमै आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएको विषयमा जानकारी प्राप्त भएको जनाइएको छ ।
'कुनै पनि राष्ट्रको विकास र समृद्धि एकै रातमा सम्भव नहुने उल्लेख गर्दै स्पष्ट नीति, दूरदृष्टि, दृढ इच्छाशक्ति, निरन्तर प्रयास र सामूहिक प्रतिबद्धताले मात्रै दिगो परिवर्तन सम्भव हुने अनुभव भ्रमणका क्रममा प्राप्त भएको छ ।'-उहाँले भन्नु भयाे ।
दक्षिण कोरियाको विकास अनुभवबाट नेपालले पनि नीति निर्माण, योजना कार्यान्वयन, सुशासन र विकासका क्षेत्रमा महत्त्वपूर्ण सिकाइ हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।
उहाँले दक्षिण कोरियाको भ्रमणमा रहँदा प्रवासी नेपाली मञ्च दक्षिण कोरिया राष्ट्रिय कमिटीका उपलब्ध पदाधिकारहरुसँग पनि भेटघाट गर्नु भएको थियो ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!