कहिलेकाहीँ कुनै चोक केवल चारवटा बाटो जोडिने ठाउँ मात्र हुँदैन, त्यो त इतिहास, भावना, संघर्ष र सम्झनाहरूको संगम पनि हुँदो रहेछ। सप्तरीकाे सप्तकोशी नगरपालिका–स्थित फत्तेपुर बजारको यो चोक त्यस्तै एउटा ऐतिहासिक र भावनात्मक धरोहर हो।
चोकको बीचमा उभिएको फुटबलको प्रतिमा हेर्दा विगतका अनेक दृश्यहरू आँखाअगाडि नाच्न थाल्छन्।
२०६० सालतिर तत्कालीन त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष तथा फुटबलप्रेमी मानबहादुर थापा (बडा) को सक्रियतामा यहाँ फुटबलको प्रतिमा स्थापना गरिएको थियो। फुटबलप्रतिको उहाँको अगाध प्रेम र खेलकुद विकासप्रतिको लगावको प्रतीक थियो यो प्रतिमा।

आज मानबहादुर थापा (बडा) काठमाडौंमा हुनुहुन्छ। तर उहाँले फत्तेपुरमा छोड्नुभएको योगदान र सम्झना यहीँ छन्। फत्तेपुरको समाजले उहाँलाई कतिकाे सम्झिरहेकाे छ, थाहा छैन् । यहाँका फुटबल खेलाडीहरूका लागि उहाँ केवल त्रियुगा स्पाेटस् क्लबका पूर्वअध्यक्ष मात्र होइन, खेलप्रतिको समर्पण र प्रेरणाका एउटा अविस्मरणीय पात्र हुनुहुन्थ्याे। उहाँले स्थापना गर्नुभएको फुटबल प्रतिमा त्यसैको जीवन्त सम्झना बनेर उभिएको छ।
समयसँगै विकासका नाममा सडकको स्वरूप फेरियो। रूपनगर–रामपुर-कान्छीचोक वैकल्पिक सडक निर्माणका क्रममा यो प्रतिमा भत्काइएको थियो। भौतिक संरचना भत्किए पनि त्यससँग जोडिएका भावना र स्मृतिहरू मेटिएनन्। अहिले पुनःनिर्माण भएर त्यही फुटबल प्रतिमा चोकमा उभिएको देख्दा मनमा छुट्टै खुसी जाग्छ। लाग्छ, फत्तेपुरले आफ्नो एउटा पुरानो पहिचान फेरि फर्काएको छ।

फत्तेपुरको इतिहास यो प्रतिमाभन्दा धेरै पुरानो छ। नेपालकै पुरानो चन्द्रनहरको उद्गमस्थलका रूपमा परिचित फत्तेपुर आफैँमा ऐतिहासिक महत्त्व बोकेको पुरानो सहर हो।यहाँ राणाकालिन पुराना भवन थिए । चन्द्र नगरकाे उद्गमस्थलमा पूर्वबाट वनभाेज खान आउनेहरूकाे भीड लाग्थ्याे । तर यति वेला यी सव ईतिहास बनेकाे छ । कुनै समय आफ्नै पहिचान, चहलपहल र सामाजिक जीवनले परिचित यो ठाउँले इतिहासका अनेक कालखण्ड देखेको छ।
समयको विडम्बना पनि कस्तो ! कुनै समय फत्तेपुरसँगै परिचित आसपासका गाउँबस्तीहरू आज ठूला सहरका रूपमा विकसित भइसकेका छन्। तर ऐतिहासिक महत्त्व बोकेको फत्तेपुर भने अझै उस्तै छ। समयले धेरैलाई सहर बनायो, तर फत्तेपुरको विकासको गति भने अपेक्षाकृत सुस्त रह्यो। पुरानो गौरव र सम्भावना बोकेको यो सहरले आज पनि आफ्नो पहिचानअनुसारको विकास पर्खिरहेको अनुभूति हुन्छ। अरू त के याे गाउँपालिकाबाट नगर हुनका लागि पनि स्थानीयले आन्दाेलन नै गर्नु परेकाे थियाे ।
तर फत्तेपुरको पहिचान विकासको गतिमा मात्र सीमित छैन। यसको गर्भमा लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण इतिहास पनि सुरक्षित छ। यही चोकबाट २०६२/०६३ को जनआन्दोलनको आवाज उठेको थियो। यी विषय नयाँ पुस्तालाई जानकारी नहुन सक्छ । यहीँबाट परिवर्तनको चाहना बोकेका पाइलाहरू अघि बढेका थिए। निरङ्कुशताविरुद्ध उठेका आवाज, सडकमा पोखिएका भावना र लोकतन्त्र प्राप्तिको साझा सपना यस चोकका साक्षी हुन्। त्याे आन्दाेलनकाे लागि माेर्चाबन्दी गर्ने मुरारी कार्की, सत्यनारायण मण्डल, उत्तम गाैतम, हेमनर्सिह कार्की, गयानन्द चाैधरी, रामदेव लेखी, गुणाराज काेइराला, सञ्जिव कट्वाललगायतका नेताहरू स्मरणीय छन् ।

२०६३ वैशाख ११ गतेको त्यो दिन कसरी बिर्सन सकिएला र ! लोकतन्त्र पुनःस्थापनाको घोषणासँगै हामीले यही परिवेशमा उत्सव मनाएका थियौँ। त्यो दिन केवल एउटा राजनीतिक उपलब्धिको खुसी थिएन, वर्षौँदेखिको संघर्ष, त्याग, साहस र आशाले पाएको सार्थकताको उत्सव थियो। अनुहारमा खुसी, मनमा उमङ्ग र आँखामा उज्ज्वल भविष्यको सपना बोकेर हामीले लोकतन्त्रको आगमनलाई आत्मीयतापूर्वक स्वागत गरेका थियौँ।
आज वर्षौँपछि यही चोकमा आइपुग्दा समय धेरै बदलिएको अनुभूति हुन्छ। सडक फेरिएका छन्, बजारको स्वरूप फेरिएको छ, मानिसका दैनिकी फेरिएका छन्। तर फुटबलको प्रतिमाले बोकेको स्थानीय पहिचान र लोकतान्त्रिक आन्दोलनले छाडेको इतिहास उस्तै जीवन्त छन्।
यो चोकलाई हेर्दा मानबहादुर थापा (बडा) को सम्झना आउँछ। उहाँको फुटबलप्रतिको प्रेम सम्झना आउँछ। यहाँका खेलाडीहरूको पसिना र खेलमैदानका उत्साहपूर्ण क्षणहरू सम्झनामा आउँछन्। अनि लोकतन्त्रका लागि यही माटोमा उभिएर गरिएको संघर्ष पनि आँखाअगाडि आउँछ।
फत्तेपुर एउटा पुरानो सहर मात्र होइन, इतिहास बोकेको बस्ती हो। चन्द्रनहरको गौरव, फुटबलप्रेमीहरूको योगदान र लोकतान्त्रिक आन्दोलनको स्मृति यसका अमूल्य सम्पत्ति हुन्। अब यी सम्पदालाई संरक्षण गर्दै फत्तेपुरको ऐतिहासिक पहिचानअनुसार विकासको नयाँ अध्याय लेख्न सकाेस यहाँकाे नेतृत्वले ।
केही ठाउँहरू नक्सामा मात्र हुँदैनन्, ती मानिसका मनमा बसेका हुन्छन्। फत्तेपुरको यो फुटबल चोक पनि त्यस्तै एउटा जीवित इतिहास हो। म आफ्नाे पुरानाे घर फत्तेपुर आउजाउ गरिरहँदा याे प्रतिमा, साइटमा रहेकाे पिन्टुकाे पान पसल, मानबहादुर बडा, यहाँका अनेकल व्यक्ति जाे मसँग चिरपरिचित हुनुहुन्छ, म नसम्झि रहन सक्दिन ।
समय बदलियो, वरिपरिका गाउँहरू सहर बने, सडक फेरिए; तर फत्तेपुरको माटोमा इतिहासका पदचाप अझै सुरक्षित छन्। यो चोकले फुटबलको प्रेम, मानबहादुर थापाको योगदान र लोकतन्त्रका लागि गरिएको संघर्षको कथा सधैँ सुनाइरहनेछ। आज याे फुटवल प्रतिमा अगाडि डिङ्ग उभिदा उभिदा यिनै कुराहरू मन मष्तिष्कमा खेले ।
२०८३ कात्तिक २५ गते बुधबार ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!