धरान /  युएन नवोदय कलेज धरानकी छात्रा युमी राईले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । चितवन तेक्वान्दो डोजाङद्वारा आयोजित प्रथम सौराहा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा उहाँले स्वर्ण पदकसहित उत्कृष्ट महिला पुम्से खेलाडीको उपाधि प्राप्त गर्नुभएको हो ।

कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत राईले प्रतियोगितामा उत्कृष्ट कौशल प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुभएको हो । उहाँले उत्कृष्ट महिला पुम्से खेलाडीको उपाधिसँगै १०० अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बङ्गलादेश, सिङ्गापुर, जापान र साउदी अरेबियाका करिब ८०० खेलाडीको सहभागिता रहेको थियो । विभिन्न आठ देशका खेलाडीबीच भएको प्रतिस्पर्धामा राईले हासिल गरेको सफलताले कलेज तथा नेपाली खेल क्षेत्रको प्रतिष्ठा बढाएको कलेजले जनाएको छ ।

राईको सफलताप्रति खुसी व्यक्त गर्दै कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विद्यार्थीले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्न सक्ने उदाहरण युमीले प्रस्तुत गरेको बताउनुभयो । उहाँले विद्यार्थीको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्न कलेजले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले विद्यार्थीको रुचि र प्रतिभाअनुसार शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा कलेजले साथ दिँदै आएको बताउनुभयो । सोही वातावरणका कारण विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरिरहेको उहाँको भनाइ छ ।

पढाइसँगै खेलकुदमा सक्रिय राईले यसअघि पनि विभिन्न प्रतियोगितामा पदक जित्दै आउनुभएको कलेजले जनाएको छ । उहाँको पछिल्लो सफलताले विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउन तथा प्रतिभाशाली खेलाडीलाई थप प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।