धरान । नेपाली समाजमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र होइनन्, आपसी सद्भाव, सामाजिक एकता र सम्बन्ध नवीकरण गर्ने अवसर पनि हुन् । दसैँ, तिहार, नेपाल संवत्, छठ तथा भिन्तुना (म्हःपूजा) लगायतका पर्वको आगमनसँगै धरानका उद्योगी तथा व्यवसायीहरू बिहीबार एकै ठाउँमा भेला भए । उनीहरूको जमघट पर्वको शुभकामना आदानप्रदानमा मात्र सीमित रहेन, धरानको खस्कँदो व्यापारिक गतिविधि उकास्नुपर्ने आवश्यकतामाथि समेत केन्द्रित भयो ।
सुनसरी डिलर तथा थोक व्यवसायी संघ र स्थानीय भवन निर्माण व्यवसायी संघको संयुक्त आयोजनामा विहीबार धरान–१२ महेन्द्र पथ एमएमपी कम्प्लेक्समा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्यलगायतको सहभागीता थियो । कार्यक्रममा एकअर्कालाई पर्वको शुभकामना दिँदै धरानको आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरियो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभाका संस्थापक सभामुख प्रदीपकुमार भण्डारीले धरानको व्यापार व्यवसायको प्रवर्द्धन र विकासका लागि आफू सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । धरानको पुरानो व्यापारिक पहिचानलाई पुनः स्थापित गर्न निजी क्षेत्र र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । व्यापार व्यवसायको विकासले स्थानीय अर्थतन्त्र मात्र नभई रोजगारी सिर्जना र समग्र क्षेत्रको समृद्धिमा समेत योगदान पुर्याउने उहाँले उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य रमेश बस्नेतले धरानको व्यापार व्यवसाय चलायमान बनाउन सबै पक्षको साझा सङ्कल्प आवश्यक रहेको बताउनुभयो । व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उहाँको धारणा थियो । धरानमा आर्थिक गतिविधि बढाउन एकअर्कालाई दोषारोपण गर्नुभन्दा सम्भावना पहिचान गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले व्यापारिक क्षेत्रको विकास र व्यवसायीका समस्याबारे धारणा राख्नुभयो । पूर्वअध्यक्ष गिरिधारी सापकोटाले धरानको व्यावसायिक इतिहास र वर्तमान अवस्थालाई जोड्दै व्यापारिक वातावरण सुधार्न व्यवसायीबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । व्यवसायीका समस्या साझा भएकाले समाधानका प्रयास पनि सामूहिक हुनुपर्ने उहाँहरूको जोड थियो । उहाँले धरानको पुरानो अस्पतालका लागि निरज तोदीको परिवारको आर्थिक सहयोगको समरणसमेत गराउनु भयो ।
नेकपा एमाले धरान उपमहानगर अधिवेशन आयोजक संयोजक हर्कजङ्ग एभेङले पनि चाडपर्वको शुभकामना व्यक्त गर्दै धरानको व्यापार व्यवसायसँग जोडिएका विषयमा धारणा राख्नुभयो । उहाँले स्थानीय अर्थतन्त्र बलियो बनाउन व्यवसायी र राजनीतिक क्षेत्रबीच संवाद तथा सहकार्यको महत्त्व औँल्याउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा कायस्थ र विजयकुमार राई, पूर्वप्रतिनिधिसभा सदस्य जयकुमार राई, सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल, अशोक ताम्राकार, संघका महासचिव प्रभाव खतिवडा, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्ताेष काफ्लेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध जातजाति, भाषा, संस्कृति र समुदायको साझा बसोबास रहेको धरानमा चाडपर्वले सामाजिक सद्भाव र एकतालाई थप बलियो बनाउने बताउनु भएको थियो ।
व्यवसायीहरूबीच आपसी सम्बन्ध विस्तार, व्यावसायिक समस्या आदानप्रदान र बजारको अवस्था बुझ्न यस्ता कार्यक्रम उपयोगी हुने सहभागीहरूको धारणा थियो । चाडपर्वको समयमा बजारमा आर्थिक कारोबार बढ्ने भएकाले उपभोक्तालाई सहज सेवा र गुणस्तरीय वस्तु उपलब्ध गराउन व्यवसायी जिम्मेवार हुनुपर्ने विषयसमेत उठेको थियो ।
कार्यक्रम आयोजक सुनसरी डिलर तथा थोक व्यवसायी संघ र स्थानीय भवन निर्माण व्यवसायी संघले विभिन्न पर्वलाई साझा उत्सवका रूपमा मनाउँदै उद्योगी व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डिलर संघका अध्यक्ष पवन पोद्वारले सहभागीलाई स्वागत गदैं बताउनु भयो ।
भवन निर्माण वयवसयाी संघका अध्यक्ष नारायण लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले धरानको आर्थिक गतिविधि विस्तार गर्न निजी क्षेत्रको सक्रियता र जनप्रतिनिधिको सकारात्मक भूमिका अपरिहार्य रहेकोमा जोड दिनु भएको थियो ।
धरान कुनै समय पूर्वी पहाड र तराईका विभिन्न क्षेत्रबीचको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित थियो । तर पछिल्लो समय व्यापारिक गतिविधिमा आएको सुस्तता, उपभोक्ताको खरिद व्यवहारमा आएको परिवर्तन र अन्य सहरमा विस्तार भएका बजारका कारण यहाँका व्यवसायीले चुनौती सामना गरिरहेका छन् । यस्तो अवस्थामा चाडपर्वको शुभकामना आदानप्रदानसँगै व्यापारिक समस्या र सम्भावनाबारे छलफल हुनु अर्थपूर्ण देखिएको छ ।
कार्यक्रमले चाडपर्वको सांस्कृतिक महत्त्वसँगै धरानको आर्थिक पुनरुत्थानका लागि साझा पहल गर्नुपर्ने सन्देश दिएको छ । शुभकामना आदानप्रदानका यस्ता जमघट औपचारिकतामा मात्र सीमित नभई व्यवसायीका समस्या समाधान, बजार विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि नियमित संवादको माध्यम बनाउन प्रदेश भसा सदस्य बस्नेतले बताउनु भयो ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!