भोजपुर /  गाउँघरमा रातको सन्नाटालाई चिर्दै सुनिने फेरीको धुन कुनै समय पूर्वी पहाडी जनजीवनको अभिन्न हिस्सा थियो । कात्तिक र चैत महिना लागेसँगै गाउँबस्तीमा जोगीहरू घरघर पुग्थे । मन्त्र उच्चारण गर्दै परम्परागत बाजा बजाएर परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्थे । तर, समय फेरिँदै जाँदा गाउँघरमा गुञ्जिने त्यही फेरीको भाका विस्तारै हराउँदै गएको छ ।

कुनै समय भोजपुरको अरुण गाउँपालिका–१ याङपाङमा १८ देखि २० घरपरिवारले अपनाउँदै आएको फेरी लगाउने परम्परा अहिले दुई जनामा सीमित भएको छ । नयाँ पुस्ताको घट्दो आकर्षण र बदलिँदो सामाजिक परिवेशका कारण पुर्खौँदेखि चल्दै आएको यो मौलिक परम्परा सङ्कटमा पर्न थालेको हो । यही परम्परालाई निरन्तरता दिँदै आउनुभएका एक प्रतिनिधि पात्र हुनुहुन्छ, अर्जुन जोगी ।

याङपाङ निवासी अर्जुन विगत दुई दशकदेखि पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँ हरेक वर्ष कात्तिक, चैत र साउन महिनामा गाउँघर डुल्दै रातको समयमा फेरी लगाउनुहुन्छ । एक महिनाको अवधिमा करिब २० देखि २५ दिनसम्म गाउँबस्ती पुगेर फेरी लगाउने गरेको उहाँ बताउनुहुन्छ ।

आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण धेरैले पुर्ख्यौली पेसा छाड्दै गए पनि अर्जुनलाई भने यो परम्परा हराएर जाओस् भन्ने लाग्दैन । आर्थिक उपार्जनको माध्यम मात्र नभई आफ्नो समुदायको पहिचान र पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा लागेको उहाँको भनाइ छ ।

धार्मिक आस्थासँग जोडिएको फेरी

फेरी लगाउने परम्परा जोगी समुदायको विशिष्ट सांस्कृतिक पहिचानसँग जोडिएको छ । विशेषगरी पूर्वी नेपालका पहाडी जिल्लामा प्रचलित यो परम्परामा जोगीहरू निश्चित महिनामा रातको समयमा घरघर पुगेर मन्त्र उच्चारण गर्दै फेरी लगाउने गर्छन् ।

परम्परागत मान्यताअनुसार फेरी लगाएमा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने, रोगव्याध तथा अनिष्टबाट रक्षा हुने र अन्नबाली राम्रो फल्ने विश्वास गरिन्छ । त्यसैले स्थानीयवासीले यसलाई धार्मिक आस्था र पुर्खौँदेखिको सांस्कृतिक अभ्यासका रूपमा लिने गरेका छन् ।

फेरी लगाउने क्रममा जोगीहरूले परम्परागत बाजाका रूपमा बराँठको सिङ वा शङ्ख प्रयोग गर्ने चलन रहेको छ । गुरु गोरखनाथको स्मरण गर्दै मन्त्र र नादसहित फेरी लगाउने परम्परा रहेको सांस्कृतिक विवरणहरूमा उल्लेख छ । ठाउँ र समुदायअनुसार फेरी लगाउने विधि तथा समयावधिमा केही भिन्नता पाइन्छ । 

फेरी लगाउन घरघर पुग्ने जोगीलाई स्थानीयवासीले आफ्नो गच्छेअनुसार चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने गर्छन् । कतिपय ठाउँमा राति फेरी लगाएपछि भोलिपल्ट बिहान घरधनीबाट सिदा र दक्षिणा सङ्कलन गर्ने चलनसमेत रहेको छ । यसले धार्मिक विश्वाससँगै जोगी समुदायको परम्परागत जीविकोपार्जनलाई पनि जोडेको छ । 

२० घरबाट दुई जनामा झर्‍यो परम्परा

अर्जुनका अनुसार याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाएका थिए । गाउँबस्तीमा फेरी लगाउने जोगीहरूको बाक्लो उपस्थिति हुन्थ्यो । तर, अहिले यो पेसा गर्नेको सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ ।

पहिले परिवारभित्रै बुबा, बाजे र पुर्खाबाट नयाँ पुस्ताले यो पेसा सिक्ने र निरन्तरता दिने चलन थियो । अहिले भने शिक्षा, रोजगारी, बसाइँसराइ र आधुनिक जीवनशैलीका कारण युवापुस्ता यसबाट टाढिँदै गएको उहाँको बुझाइ छ ।

रातको समयमा गाउँघर डुल्नुपर्ने, मौसमको प्रतिकूलता सहनुपर्ने र वर्षभरि नियमित आम्दानी नहुने भएकाले पनि नयाँ पुस्ताले यसलाई पेसाका रूपमा रोज्न नचाहेको देखिन्छ । अर्कोतर्फ, परम्परागत पेसाप्रति समाजमा पर्याप्त सम्मान र आकर्षण नहुनुले पनि यसको निरन्तरतामा चुनौती थपेको छ ।

फेरी लगाउने परम्परा भोजपुरमा मात्र सीमित छैन । खोटाङ, ओखलढुङ्गा, झापा तथा पूर्वी नेपालका अन्य जिल्लामा पनि जोगी समुदायले यसलाई निरन्तरता दिँदै आएका छन् । तर, ती जिल्लामा समेत नयाँ पुस्ताको घट्दो सहभागिताका कारण यो परम्परा सङ्कटमा पर्दै गएको विभिन्न समाचार तथा अध्ययनमा उल्लेख छ । 

जीविकोपार्जनभन्दा बढी पुर्खाको चिनो

अर्जुनका लागि फेरी लगाउनु आम्दानीको स्रोत मात्र होइन, पुर्खाले छाडेर गएको चिनो जोगाउनु पनि हो । गाउँघर पुगेर फेरी लगाउँदा स्थानीयवासीबाट प्राप्त हुने अन्नपात र नगदले जीविकोपार्जनमा केही सहयोग पुग्ने गरेको छ । तर, उहाँको मुख्य चासो यो परम्परा आगामी पुस्तासम्म कसरी पुर्‍याउने भन्नेमा छ ।

आफूले गर्दै आएको पेसा र परम्परा नयाँ पुस्ताले पनि बुझ्नुपर्ने उहाँको धारणा छ । नयाँ पुस्ताले यसको महत्व बुझ्न सके मात्र पुर्ख्यौली संस्कृतिले निरन्तरता पाउने उहाँ बताउनुहुन्छ ।

समयसँगै गाउँघरको जीवनशैली फेरिएको छ । प्रविधि र आधुनिकताले मानिसको दैनिकी बदलिएको छ । पहिले गाउँको रातसँग जोडिएको फेरीको आवाज अहिले विरलै सुनिन थालेको छ । पुस्तान्तरण हुन नसक्दा मौलिक परम्परा हराउने जोखिम बढेको छ ।

फेरी लगाउने परम्परालाई जोगाउन यसलाई केवल कुनै समुदायको पेसाका रूपमा मात्र नभई सांस्कृतिक सम्पदाका रूपमा पनि बुझ्न आवश्यक छ । यसको इतिहास, विधि, मन्त्र, बाजा र सांस्कृतिक महत्वको अभिलेखीकरण गर्न सके भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेज बन्न सक्छ ।

स्थानीय तह, संस्कृति संरक्षणसँग सम्बन्धित निकाय र समुदायले यसको संरक्षणमा चासो दिनुपर्ने देखिन्छ । नयाँ पुस्तालाई परम्पराको महत्व बुझाउने, यससँग सम्बन्धित ज्ञान र सीप हस्तान्तरण गर्ने तथा परम्परा धान्ने व्यक्तिलाई सम्मान गर्ने वातावरण बनाउन सके यसको संरक्षणमा सहयोग पुग्न सक्छ ।

याङपाङमा कुनै समय २० घरपरिवारसम्मले धानेको फेरी परम्परा आज दुई जनामा खुम्चिएको छ । अर्जुन जोगीले आफ्नो तर्फबाट त्यसलाई निरन्तरता दिइरहनुभएको छ । तर, उहाँपछि यो परम्पराको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अनुत्तरित छ । गाउँघरमा फेरि कहिले फेरीको पुरानो भाका गुञ्जिने हो भन्ने कुरा अब नयाँ पुस्ताको चासो र सामूहिक संरक्षण प्रयासमा निर्भर देखिन्छ ।