धरान । देशका विभिन्न चार स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नौ लाख सात हजार आठ सय ४५ रुपैयाँ नगद र २१ बुक तास बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले काठमाडौं–४ का ४९ वर्षीय सुनिल श्रेष्ठसहित उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो । उनीहरूको साथबाट ६ लाख ८५ हजार एक सय ९५ रुपैयाँ नगद र नौ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाइपासस्थित देवबहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ४७ वर्षीय चन्दसहित उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो । उनीहरूको साथबाट एक लाख ७७ हजार छ सय रुपैयाँ नगद र १० बुक तास बरामद गरिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित वाङ्गेल लामाको टहरामा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१ घर भएका ४२ वर्षीय लामासहित उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ७२ हजार सात सय ५० रुपैयाँ नगद र एक बुक तास बरामद भएको छ ।

यसैगरी, चितवनको खैरहनी नगरपालिका–१० जीवनपुर चोकमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले खैरहनी नगरपालिका–६ का ३१ वर्षीय अनिश पाठकसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो । उनीहरूको साथबाट ७२ हजार तीन सय रुपैयाँ नगद र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।