धरान / दसैँको किनमेल र चहलपहल सकिएलगत्तै तिहार, नेपाल संवत् र छठ पर्व नजिकिएपछि धरानको बजार फेरि चलायमान बनेको छ । चाडपर्व लक्षित उपभोग्य वस्तु, लत्ताकपडा, जुत्ता–चप्पल, विद्युतीय उपकरण, घरायसी सामग्री तथा पूजासामग्रीको खरिदबिक्री बढ्न थालेपछि बजारमा व्यापारिक चहलपहल थपिएको छ ।
धरानका मुख्य व्यापारिक क्षेत्र भानुचोक, महेन्द्रपथ, देशीलाइन, लक्ष्मीचोक, पुतलीलाइन र पुरानो बजारलगायत क्षेत्रमा चाडपर्वको किनमेल गर्ने उपभोक्ताको उपस्थिति बाक्लिएको छ । दसैँमा छुटेका सामग्री खरिद गर्ने र तिहार तथा छठका लागि आवश्यक सामान जोहो गर्ने उपभोक्ताका कारण पसलहरूमा चहलपहल बढेको व्यवसायी बताउँछन् ।
चाडपर्वको प्रभाव खुद्रा बजारमा मात्र सीमित छैन् । थोक तथा डिलर व्यवसायमा समेत यसको प्रभाव देखिन थालेको छ । खुद्रा व्यवसायीले चाडपर्वलाई लक्षित गरी सामानको मौज्दात बढाउने, नयाँ सामग्री ल्याउने र ग्राहक आकर्षित गर्न विभिन्न छुट तथा सहुलियतका योजना सञ्चालन गर्ने गरेका छन् । यसले थोक व्यवसायदेखि ढुवानी, वितरण र खुद्रा बिक्रीसम्मको आर्थिक गतिविधिलाई सक्रिय बनाएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा धरान–१२ स्थित एमएमपी कम्प्लेक्सका सञ्चालक गिरिधारी सापकोटाका अनुसार चाडपर्व नेपाली बजारको वार्षिक व्यापारिक चक्रमा महत्वपूर्ण समय हो । वर्षभरि अपेक्षाकृत सुस्त रहने कतिपय व्यापारिक गतिविधि चाडपर्वको समयमा विस्तार हुने गर्छन् । उपभोक्ताले यही समयमा नयाँ लत्ताकपडा, घरायसी सामग्री तथा अन्य टिकाउ वस्तु खरिद गर्ने भएकाले व्यवसायीले पनि यस अवधिलाई विशेष महत्व दिने गरेका छन् ।
सुनसरी डिलर तथा थोक व्यवसायी सङ्घका अध्यक्ष पवन पोद्दारका अनुसार चाडपर्वको व्यापारले थोक तथा खुद्रा बजारबीचको कारोबारलाई गति दिने गरेको छ । चाडपर्वमा खुद्रा व्यापारीले सामानको माग बढाउने भएकाले डिलर तथा थोक व्यवसायमा पनि कारोबार विस्तार हुने गर्छ । बजारमा माग बढ्दा सामानको आपूर्ति, ढुवानी र वितरणमा संलग्न व्यवसायी तथा श्रमिकले समेत काम पाउने अवसर बढ्छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घका उद्योग सचिव नारायण लिम्बूले पनि चाडपर्वको समयमा बजारको आर्थिक गतिविधि विस्तार हुने पक्षलाई महत्त्वका साथ हेर्नुभएको छ । चाडपर्वलाई व्यापार विस्तारसँगै स्थानीय उत्पादन, घरेलु उद्यम र साना व्यवसायको प्रवद्र्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँहरको भनाई छ ।
नेपाली समाजमा चाडपर्व धार्मिक तथा सांस्कृतिक महत्वमा मात्र सीमित छैनन् । पारिवारिक भेटघाट, नयाँ लुगा लगाउने, घर सजाउने, मिठाई तथा परिकार बनाउने, आफन्तलाई उपहार दिने र पूजाआजाका सामग्री खरिद गर्ने परम्पराले बजारमा उपभोग बढाउँछ । तिहारमा विशेषगरी फूलमाला, बत्ती, विद्युतीय सजावटका सामग्री, मिठाई, फलफूल र पूजासामग्रीको माग बढ्ने गर्छ । छठ पर्वका लागि बाँसका सामग्री, फलफूल, नरिवल, उखु र अन्य पूजासामग्रीको कारोबार पनि बढ्ने गरेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!