काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका ढकालले दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै नेपालमा लगानीका अवसरबारे जानकारी गराउनुभएको हो ।
भेटमा नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार र लगानीका सम्भावनाबारे छलफल भएको थियो। ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताउनुभयो ।
नेपालमा उपलब्ध स्वच्छ ऊर्जा र चिसो हावापानी सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि उपयुक्त आधार बन्न सक्ने उहाँको भनाई थियो । यस्तै, केबलकार र स्की रिसोर्टजस्ता पर्यटन पूर्वाधारमा पनि लगानीका अवसर रहेको उहाँले बताउनुभयो ।
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्न लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए। सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्णजयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचलाई ढकालले स्वागत गर्नु भयो । उहाँले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सरकारी तथा निजी क्षेत्रबाट उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा विदेशी लगानी आकर्षित गर्न नीतिगत र नियमनकारी स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै ढकालले द्विपक्षीय लगानी सम्झौता (बीआईए) र दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । लगानीकर्तालाई नीतिगत स्थिरता र विश्वास दिलाउन यस्ता सम्झौता महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
यसैगरी, फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा ढकालले प्रशंसा गर्नु भयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि युएईबाट सिधा उडान सञ्चालनका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो् ।
भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्न सहज हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको धारणा थियो।
ढकालले सन् २०२७ मा मनाइने नेपाल–युएई कूटनीतिक सम्बन्धको स्वर्णजयन्तीलाई दुई देशबीचको आर्थिक साझेदारी विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। स्वर्णजयन्तीले साझा समृद्धि र आपसी सहकार्यको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उनले व्यक्त गर्नु भएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!