धरान । विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार साँझ धरान रङ्गशालामा भएको उद्घाटन खेलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपीएफले सुरुदेखि नै विपक्षी टोलीमाथि दबाब बनाएको थियो। एपीएफको जितमा पूर्णिमा राईले चार गोल गरिन्। रश्मिकुमारी घिसिङले दुई गोल थपिन् भने एक गोल झारखण्डको टोलीबाट आत्मघाती भएको थियो।
खेलको १८औँ मिनेटमा पूर्णिमाले गोल गर्दै एपीएफलाई अग्रता दिलाउनु भयाे । २२औँ मिनेटमा झारखण्डकी खेलाडीबाट आत्मघाती गोल भएपछि एपीएफको अग्रता दोब्बर भयो। २९औँ मिनेटमा रश्मिकुमारीले गोल थपेपछि पहिलो हाफमा एपीएफ ३–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि एपीएफले आक्रामक खेललाई निरन्तरता दियो। दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गर्नु भयाे । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उहाँले ह्याट्रिक पूरा गर्नु भयाे । खेलको ३३औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेपछि एपीएफले ६–० को अग्रता बनायो। खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपीएफ ७–० ले विजयी भयो।
चार गोल गरेकी पूर्णिमा राई खेलको प्लेयर अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भयाे ।
प्रतियोगिताअन्तर्गत आइतबार आयोजक स्वर्णिम क्लब र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ। मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन्। एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, गाईघाट फुटबल क्लब, काँकडभिट्टा महिला क्लब, भारतको अक्वा फुटबल क्लब र आयोजक स्वर्णिम क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले विद्युतीय स्कुटर प्राप्त गर्ने आयाेजकले जनाएकाे छ ।
धरानमा पहिलोपटक महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा आयोजना गरिएको हो। खेल सञ्चालनका लागि धरान रङ्गशालामा अस्थायी फ्लडलाइट जडान गरिएको आयोजक क्लबका सचिव उमेश जिमीले जानकारी दिनु भएकाे छ । महिला फुटबलको व्यावसायिक विकास, स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धाको अवसर प्रदान गर्नु र धरानलाई महिला फुटबलको गन्तव्यका रूपमा स्थापित गर्नु प्रतियोगिताको उद्देश्य रहेको जिमीले बताउनु भयाे । तस्विर: अर्जुन सुवेदी




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!