धरान । तिहारमा देउसी–भैलो खेल्ने, रमाइलो गर्ने र वनभोज खाने चलन पुरानै हो। तर धरान–१३ फुस्रेस्थित पब्लिक माध्यमिक विद्यालयले यसपटक देउसीलाई मनोरञ्जनमा मात्र सीमित राखेन। विद्यालयको आर्थिक अवस्था सुधार्ने र शैक्षिक विकासका लागि स्रोत जुटाउने उद्देश्यसहित शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीलाई एकै ठाउँमा जोड्यो।

चार दिनसम्म सञ्चालन गरिएको देउसीबाट विद्यालयले पाँच लाख २० हजार ५९८ रुपैयाँ संकलन गरेको छ। आइतबार फुस्रे चोकमा आयोजित कार्यक्रमसँगै देउसी समापन गरिएको छ । विद्यालयको दैनिक खर्च व्यवस्थापन र शैक्षिक सुधारमा सहयोग पु¥याउने लक्ष्यले आयोजना गरिएको देउसीमा विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका सदस्यहरू सक्रिय रूपमा सहभागी भए।

यसअघि विद्यालयले २०७३ सालमा देउसी खेलेको थियो। त्यसको करिब नौ वर्षपछि फेरि देउसीमार्फत विद्यालयका लागि आर्थिक स्रोत जुटाउने प्रयास गरिएको हो। यसपटकको देउसीको विशेषता रकम संकलन मात्र थिएन, विद्यालयको अभियानमा समुदायलाई जोड्नु पनि थियो।

public mavi

विद्यालयको देउसीलाई टोल–टोलसम्म पु¥याउन संयुक्त टोल विकास संस्थाका अध्यक्ष कृष्ण राउतले समन्वयकर्ताको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष हरीबहादुर कार्कीले जानकारी दिनुभयो ।  राउतको नेतृत्वमा विभिन्न टोल विकास संस्थालाई परिचालन तथा समन्वय गरिएको थियो। विद्यालयको अभियानलाई समुदायको साझा अभियान बनाउन टोलस्तरमा गरिएको समन्वयले सहयोग पुगेको आयोजक पक्षको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्की २०८२ सालमा जिम्मेवारीमा आएपछि विद्यालय सुधारका लागि आर्थिक स्रोत जुटाउनेदेखि शैक्षिक कार्यक्रम विस्तार गर्नेसम्मका प्रयास अघि बढाइएको विद्यालयले जनाएको छ। विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित देउसी आयोजना गरिएको हो।

विद्यालयका कर्मचारी प्रफुल्ल भण्डारीका अनुसार कार्की अध्यक्ष बनेपछि विद्यालय प्रगतिको बाटोमा अघि बढेको छ। “शून्यको अवस्थाबाट विद्यालयलाई एउटा नमुना विद्यालय बनाउने अभियानमा उहाँ लाग्नुभएको छ,” भण्डारीले भन्नु भयो ।

वि।सं। २००९ साल भदौ २३ गते स्थापना भएको पब्लिक माध्यमिक विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ। विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत छन्। अब केजी कक्षा सञ्चालन गर्ने तयारीसँगै कक्षा ९ देखि १२ सम्म कृषि इन्जिनियरिङ विषय सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ। विद्यालयले सबै कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन अघि बढाउने र विषयगत प्रयोगशाला व्यवस्थापन गर्ने लक्ष्य पनि लिएको छ। यी योजनालाई कार्यान्वयन गर्न आर्थिक स्रोत र सामुदायिक सहयोग आवश्यक भएकाले देउसीलाई विद्यालय विकाससँग जोडिएको विद्यालयका प्रधानाध्यपक नारद राईले बताउनु भयो । 

आइतबार फुस्रे चोकमा भएको देउसी समापन कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नेत्र काफ्ले प्रमुख अतिथि हुनुहुन्थ्यो ।  वडा नं. २० की सदस्य पञ्चमाया राई, विद्यालयका पूर्वप्रधानाध्यापक पुरुषोत्तम निराैला, प्रधानाध्यापक नारद राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्की, पूर्वएसएसपी तथा समाजसेवी भीम दाहाल, समाजसेवी घनश्याम तिम्सिना, सञ्चारकर्मी तीर्थ कार्की, सूर्य टोल विकास संस्थाका अध्यक्ष तिलोकसिंह लिम्बू र उपाध्यक्ष विमला गुरुङलगायत स्थानीयवासीको पनि उपस्थिति थियो। समापन कार्यक्रममा पूर्वप्रधानाध्यापक निराैला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्की, समाजसेवी दाहाल र सञ्चारकर्मी कार्कीलगायतले नृत्य प्रस्तुत गर्दै देउसीलाई उल्लासमय बनाएका थिए।

देउसीबाट संकलित रकम विद्यालयको व्यवस्थापन र शैक्षिक विकासमा खर्च गर्ने लक्ष्य राखिएको छ। चार दिनसम्मको सामूहिक प्रयासले विद्यालयलाई पाँच लाखभन्दा बढी रकम जुटाउनुका साथै शिक्षक, अभिभावक, टोल विकास संस्था र स्थानीय समुदायबीच सहकार्यको सन्देश पनि दिएको छ।

विद्यालयको भविष्य सुधार्ने उद्देश्यले खेलिएको यस देउसीले एउटा महत्त्वपूर्ण सन्देश दिएको । शैक्षिक संस्था बलियो बनाउन विद्यालयभित्रको प्रयास मात्र पर्याप्त हुँदैन, समुदायको साथ र सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। त्यो साथ र सहयोग यो तिहारमा समुदायबाट हामीले पाएका छौं । अध्यक्ष कार्कीले भन्नु भयो । 

bhim dahal