धरान । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय धरानले प्रभातफेरीसहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमअघि सुनसरी उद्योग वाणिज्य सङ्घको कार्यालयबाट मङ्गलबार विहान सुरु भएको प्रभातफेरी धरानको भानुचोक पुगेर पुनः सङ्घको कार्यालयमा आएर टुङ्गिएको थियो। प्रभातफेरीमा सुनसरी उद्योग वाणिज्य सङ्घ, वस्तुगत तथा थोक विक्रेता सङ्घलगायतका संस्थाहरू आ–आफ्ना ब्यानरसहित सहभागी भएका थिए।

प्रभातफेरीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रम आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत मौसम ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा  सुनसरी उद्याेग बाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी  रहनु भएकाे थियाे । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कर अधिकृत छत्रबहादुर लिम्बूले राष्ट्रिय कर दिवस तथा कर सप्ताहको महत्त्वबारे प्रकाश पार्नु भएकाे थियाे । कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनुभयाे । 

कार्यक्रममा सुनसरी उद्याेग बाणिज्य सङ्घका पूर्व अध्यक्ष सराेज श्रेष्ठ, कर सहयोगी एसोसिएसनका विष्णु कोइराला, अडिटर एसाेसिएसन धरानका अध्यक्ष भरत ताम्राकार ले शुभकामना मन्तव्य राख्दै करदाता र कर प्रशासनबीच सहकार्य आवश्यक रहेको बताए। त्यसैगरी अडिटर एसोसिएसनकी अध्यक्ष भरता ताम्राकारलागयतले शुभकामना दिनु भएकाे थियाे । उहाँहरुले करदाताहरुकाे समस्याबारे आन्तरिक राजस्व कार्यलय धरानलाई ध्यानाकर्षणसमेत गराउनु भएकाे थियाे । 

kar diwas1

कार्यक्रममा सहभागी वक्ताहरूले कर तिर्नु नागरिकको दायित्व मात्र नभई देशको विकास र समृद्धिमा योगदान पुर्‍याउने महत्त्वपूर्ण माध्यम भएको बताउनु भएकाे थियाे । करदातालाई सहज सेवा, कर प्रणालीमा पारदर्शिता र कर प्रशासनलाई थप सेवामुखी बनाउनुपर्नेमा उहाँहरूको जोड थियो।

नेपालमा राष्ट्रिय कर दिवस मनाउन थालिएको ऐतिहासिक आधार वि.सं. २०५४ मङ्सिर १ गतेदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन हो। यही दिनको सम्झनामा सरकारले २०६९ सालदेखि मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउन थालेको हो। त्यसयता मङ्सिर १ देखि ७ गतेसम्म कर सप्ताहका रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। 

यस वर्षको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ रहेको छ। कर दिवस तथा सप्ताहको मुख्य उद्देश्य करको महत्त्वबारे नागरिकलाई सचेत बनाउनु, स्वेच्छिक कर सहभागिता बढाउनु, करको दायरा विस्तार गर्नु र करदाता तथा कर प्रशासनबीचको सम्बन्धलाई विश्वासिलो बनाउनु भएकाे प्रमुख कर अधिकृत माैसम ढुङ्गेलले जानकारी दिनु भयाे ।

आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी प्रशासनिक काम गर्नुका साथै स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, करदातालाई सेवा तथा परामर्श दिने, कर विवरण र भुक्तानीको अनुगमन गर्ने तथा कर कानुनको परिपालना गराउने जिम्मेवारी निर्वाह गर्छ। आन्तरिक राजस्व कार्यालय धरानको कार्यक्षेत्रमा सुनसरीसहित धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्ला पर्दछन्। 

कर सप्ताहको अवसरमा करदातालाई करप्रति थप जिम्मेवार बनाउन, कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउन तथा उत्कृष्ट करदातालाई सम्मान गरी कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने कार्यालयले जनाएकाे छ । 

WhatsApp Image 2026-11-17 at 11.29.53