धरान / बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको ठगी प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रकरणका प्रतिवादी बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालक स.स्था बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने र सहकारीकी कर्मचारी अस्मिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सहकारी संस्थासँग आबद्ध नेपाल भर ३० वटा र विदेशमा आठ वटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताहरूले बचत गरेको रकम अपचलन तथा ठगी गरी हालसम्म फरार रहेका प्रतिवादीहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार पीडितको सङ्ख्या १७ हजार २० रहेको उक्त प्रकरणमा शंकर थापासहित ४ हजार बढी जाहेरवालाको जाहेरीका आधारमा कुल बिगो रकम १० अर्ब ७३ करोड, ४३ लाख भन्दा बढी रहेको सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । बराह सहकारीका संस्थापक तथा सञ्चालकसमेत रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा विशेष टोली परिचालन गरिएको थियो । उनीहरुलाई प्रहरीले सुनसरीको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ । 

धरान उपमहानगरपालिका–१२ भए पनि हाल काठमाडौं महानगरपालिका–२२ मा बसोबास गर्दै आएका ४५ बर्षीय लामिछाने बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक हुन । त्यस्तै, धरान उपमहानगरपालिका–१५ निवासी अस्मिता भण्डारी पनि पक्राउ पर्नु भएको छ । उहाँ बराह बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमितिकी सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह समूह १ नम्बर प्रदेश सचिवालय सदस्य रहेको प्रहरीले जनाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । आजै जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप गरि अनुसन्धान थालिएको उहाँले जानकारी दिनु भयो । जाहिरमिा उल्लेख भएका मानबहादुर विश्वकर्मा, गंगा कालीकोटेलगायतलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । २ सय भन्दा बढीलाई प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।