धरान । आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति धरान–१६ स्थित धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई स्तब्ध पार्दै पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो।
पुलिसको एकपक्षीय जितमा मीना देउवा र रेखा पौडेलले दुई–दुई गोल गरे। त्यस्तै, बिर्षणा चौधरी र अनुष्का शेर्पाले एक–एक गोल थपे।
खेलको सुरुदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको पाँचौँ मिनेटमा मीना देउवाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। ३०औँ मिनेटमा रेखा पौडेलले अग्रता दोब्बर बनाइन्। पहिलो हाफको ३४औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस ३–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि पुलिसको आक्रमण रोकिएन। ५५औँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० पुर्याइन्। त्यसको छ मिनेटपछि ६१औँ मिनेटमा बिर्षणा चौधरीले गोल थपिन्। खेलको ७८औँ मिनेटमा अनुष्का शेर्पाले छैटौँ गोल गरेपछि पुलिसले ६–० को फराकिलो जित सुनिश्चित गर्यो। घरेलु मैदानमा समर्थकको साथ पाएको आयोजक स्वर्णिमले भने गोल फर्काउन सकेन।
यसअघि बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। एपीएफका लागि खेलको नवौँ मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४४औँ मिनेटमा कप्तान गीता राणाले गोल गरेका थिए। उक्त खेलमा गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भएकी थिइन्।
अब प्रतियोगिताको उपाधिका लागि मंसिर ५ गते एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै विभागीय टोली महिला फुटबलका प्रतिस्पर्धी शक्ति भएकाले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!