गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन के प्रयोग भएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमै चासो छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गरेको खोजमा यी संरचना जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको पाइएको छ ।
- मकर श्रेष्ठकाे रिर्पाेट / निमजिन
गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, देशको प्रमुख प्रशासकीय भवन रहेको सिंहरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको फरेन्सिक परीक्षणमा पुष्टि भएको छ ।
भदौ २३ गते जेन—जीको आह्वान भएको प्रदर्शनका क्रममा संसद भवन बाहिर १७ सहित १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा २४ गते देशभर हिंसात्मक प्रदर्शन भएको थियो ।
त्यो प्रदर्शनका क्रममा जलेका भवनहरूबाट संकलन गरिएको १६ वटा नमुना भारतको गृह मन्त्रालय मातहत रहेको सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीमा परीक्षण गर्दा पेट्रोलियम पदार्थको अवशेष पाइएको हो । “नमुनाहरूमा पेट्रोलियम उत्पादन (पेट्रोलियम हाइड्रोकार्बन) का अवशेषहरू फेला परेको छ,” प्रतिवेदनमा भनिएको छ । परीक्षणका लागि पठाइएको एउटा झोल नमुना पेट्रोल नै भएको परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

ल्याबोरेटरीमा १६ वटा नमुनालाई भौतिक रसायन विधि, रसायन परीक्षण, थिन लेयर क्रोमाटोग्राफी, ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोफोटोमेट्री विधिबाट परीक्षण गरेर पेट्रोलियम उत्पादनहरू र तिनका अवशेषहरू जाँच गरिएको थियो ।
यो परीक्षण प्रतिवेदन नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले फेला पारेर त्यसको अध्ययन र विश्लेषण गरेको छ । जसबाट आगजनीमा पेट्रोलियम पदार्थको प्रयोग भएको पुष्टि हुन्छ । विज्ञहरूले पनि आगलागी भएको ठाउँको नमुना परीक्षण गर्दा नतिजामा हाइड्रोकार्बन देखिएमा त्यहाँ पेट्रोलियम पदार्थ प्रयोग भएको मानिने बताएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ बायोमिङबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेजका वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीले भने, “पेट्रोलियम पदार्थको अवशेष भएको नमुनामा हाइड्रोकार्बन पाइन्छ, हाइड्रोकार्बन पेट्रोलियम पदार्थमा पाइन्छ ।”

जेन—जी आन्दोलनका क्रममा आगजनी भएका ठाउँबाट संकलन गरिएको खरानी तथा अँगार, जलेको ठाउँको माटो, जलेका तारका टुक्रा, आधा जलेका काठका टुक्रा, आधा जलेका कपडाका ओसिला टुक्रासहितका १५ वटा नमुना अलग–अलग जिप लक प्लास्टिकमा प्याक गरी तथा १२ एमएल पहेँलो झोल पदार्थ सेन्ट्रिफ्युज ट्युबमा हालेर भारतको दिल्लीस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीमा पठाइएको थियो ।
सिलबन्दी कार्टुनमा राखी, बाहिरबाट कपडा बेरेर टेपको सिल लगाएर पठाइएका ती सामग्री नयाँ बानेश्वरस्थित संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार परिसरभित्रका जलेका मन्त्रालयका भवन, राष्ट्रपति भवनलगायतका ठाउँबाट संकलन गरिएको थियो ।
परीक्षणका लागि पठाइएको झोल पदार्थ पेट्रोलियम पदार्थ रहेको फरेन्सिक प्रतिवेदनमा उल्लेख छ । सिंहदरबारभित्रै रहेको एउटा मन्त्रालयबाट संकलन गरिएको त्यो नमुना कसरी संकलन गरिएको हो भन्नेबारेमा केही खुल्न सकेन ।
फरेन्सिक रिपोर्टबिनै आयोगको प्रतिवेदन
नेपाल सरकारले नै भारत सरकारसँग समन्वय गरेर यो नमुना परीक्षण गरेको भए पनि यो प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फरेन्सिक परीक्षणको प्रतिवेदनबिना नै आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । “नमुना परीक्षण गर्न पठाएको भन्ने हामीले जानकारी पाएका छौँ । तर, हामीलाई रिपोर्ट उपलब्ध गराइएन,” आयोगका प्रवक्ता विज्ञानराज शर्माले निमजिनलाई भने, “आगामी दिनमा यस्ता नमुना नेपालमै परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गर्न सुझाव दिएका छौँ ।”
जबकि आयोगले प्रतिवेदन बुझाएको एक महिनाअघि माघ २६ गते नै भारतको गृह मन्त्रालयमार्फत यो प्रतिवेदन परराष्ट्र मन्त्रालयमा आएको थियो । परराष्ट्र मन्त्रालयले माघ २९ गते यो प्रतिवेदन गृह मन्त्रालयमा पठाएको निमजिनको खोजमा देखिन्छ । फरेन्सिक प्रयोगशालाले माघ ३ गतेदेखि परीक्षण सुरु गरेर माघ १६ गते यो प्रतिवेदन तयार पारेको थियो ।

आयोगले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालीन संघीय संसद भवन), सिंहरदरबारभित्रका भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतमा पेट्रोल बम प्रयोग भएको अनुमान गरेर प्रतिवेदन बुझाएको श्रोतले जनाएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरमा सरकारी, निजी र सामुदायिक गरी कुल २ हजार ६ सय ७१ वटा भवनमा तोडफोड तथा आगजनी भएको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको भदौ २३ र २४ को आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना प्रतिवेदनअनुसार तोडफोड र आगजनी हुनेमा सबैभन्दा धेरै २ हजार १ सय ३४ वटा सरकारी भवन छन् ।
आन्दोलनका क्रममा खिचिएका र सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा पनि प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालतमा मात्र होइन, काठमाडौं उपत्यकाबाहिर पनि पेट्रोल बम प्रहार गरेको देखिन्छ । त्यस्ता तस्बिर र भिडियो संकलन गरेर निमजिनले विश्लेषण गर्दा पेट्रोल प्रयोग भएको देखिन्छ ।

निमजिनले प्राप्त गरेको एउटा टिकटक भिडियोमा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा आगजनीअघि हथौडा बोकेका केही व्यक्तिले भित्र पसेर तोडफोड गरेका थिए । उनीहरूले भवनका झ्यालका सिसा, टेबल तथा टेबलमा रहेका कम्युटर र प्रिन्टरमा हथौडाले हानेर तोडफोड गरेको भिडियोमा देखिन्छ ।
नमुना कसरी पठाइयो
नेपाल प्रहरीलाई नमुना संकलन गर्न लगाएर गृह मन्त्रालयले पुस पहिलो साता नमुनाहरू भारतमा परीक्षण गर्न पठाएको थियो । भारतको गृह मन्त्रालयले नेपालबाट पठाएको नमुना परीक्षण गर्न पुस १५ गते नयाँ दिल्लीको लोधी रोडमा रहेको सरकारी स्वामित्वको प्रयोगशालामा दिएको थियो ।
नमुना परीक्षणका लागि भारतको गृह मन्त्रालयका उपसचिव, नेपाली दूतावास दिल्लीका काउन्सलर, दूतावासमा रहेका नेपाल प्रहरीका प्रतिनिधिसहितको टोलीले संयोजन गरेको थियो ।

नमुना परीक्षण र प्रतिवेदन तयार गर्न एम.एस.सी (अर्गानिक केमिस्ट्री), रासायनिक विश्लेषणको क्षेत्रमा ३१ वर्षको अनुभव भएका एक विज्ञ (प्रतिवेदनमा उनको नाम उल्लेख भए पनि गोपनीयताका कारण सार्वजनिक नगरिएको) सहभागी थिए ।
भारत र विदेशका अदालतहरूमा विशेषज्ञको परामर्श दिँदै आएका ती विज्ञले प्रहरीको अपराध अनुसन्धानमा सघाउन घटनास्थलहरूको जाँच गर्नसमेत सघाउने गरेका छन् ।
उनले प्रमाण संकलन र परीक्षणका लागि वैज्ञानिक सहयोग गर्दै आएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका १ हजारभन्दा बढी मुद्दाहरूमा प्रतिवेदन दिएका उनैले नेपालको जेन–जी आन्दोलनमा सरकारी र निजी भवन आगजानी गर्न प्रयोग भएका रासायनिक पदार्थको परीक्षणको नेतृत्व गरेका थिए ।
कभर तस्बिर : जेन—जी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंमा एक जना प्रदर्शनकारीले हातमा बोकेको पेट्रोल बम । तस्बिर : बर्षा शाह/निमजिन



















