• गत बर्ष भन्दा एक हजार बढी खसीबोकाको कारोवार, किसानलाई बजारको अवसर

धरान । दसैँलाई लक्षित गरी धरानस्थित कृषि उपज बजार केन्द्रबाट यस वर्ष १० हजार ५०० खसीबोका बिक्री वितरण हुँदा करिव २६करोड २५ लाख बराबरको कारोवार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले ल्याएका खसीबोकाको माग बढेपछि बजारमा कारोबार उत्साहजनक देखिएको हो ।

कृषि उपज बजार केन्द्रका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस वर्ष बिक्री भएका खसीबोकाको औसत मूल्य प्रतिगोटा २५ हजार रुपैयाँका दरले हिसाब गर्दा २६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । काठमाडौंका व्यापारीसमेत धरान आएर खसीबोका खरिद गरी लैजाँदा यस वर्ष माग उच्च रहेको व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनु भयो । 

दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गर्छ । यस वर्ष खसीबोका बाहिरी बजारतर्फ बढी गएको र आपूर्तिमा कमी देखिएकाले अभावको अवस्था सिर्जना भएको भट्टराईको भनाइ छ ।

गत वर्ष २०८२ को दसैँ अवधिमा धरानको कृषि उपज बजार केन्द्रबाट करिब ९ हजार ५०० खसीबोका बिक्री हुँदा २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष बिक्री सङ्ख्या १० हजार ५०० पुगेको छ । गत बर्ष भन्दा एक हजार बढी खसीबोका विक्रि भएको छ । 

भट्टराईका अनुसार किसानले पर्याप्त खसीबोका उत्पादन गर्न सके बिक्री नहुने समस्या नरहेको उहाँले बताउनु भयो । धरानको बजार पूर्वी पहाडी जिल्लाका किसानका लागि पशुपालनबाट उत्पादित वस्तु बिक्री गर्ने महत्त्वपूर्ण केन्द्र हो । भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायत जिल्लाबाट किसान तथा व्यापारी खसीबोका बिक्रीका लागि यहाँ आउने गर्छन् ।

पहाडी क्षेत्रका धेरे स्थानमा बाँदरले अन्यवाली नोक्सान गर्न थाले पछि कृषकहरु अलाइची खेती र बाख्रा पालनमा लागेका छन् । भोजपुरको आमचोक वडा नं. १  सिमनतुवामा प्रत्येकको घरमा १५ देखि ३०।४० वटा खसीबाख्रा खोरमा छन् । पछिल्लो समय धान मकै उत्पादन भन्दा खसीबाख्रा पालन फस्टाएको वडा नं. १ का पूर्व वडाध्यक्ष तथा बाख्रापालक कृषक डम्बरबहादुर कार्कीले बताउनु भयो । उहाँलगायत दर्गाबहादुर कार्कीको खोरमा ३०।३५ वटा खसीबाख्रा छन् । बजारको कुनै समस्या नभएको उनीहरुको भनाई छ । व्यापारीहरु घर मै आएर लाने गरेको उनीहरुको भनाई छ । 

बजारमा माग रहँदा पशुपालनलाई आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने सम्भावना देखिएको छ । किसानले उत्पादन बढाउन सके बजारको माग धान्न सहयोग पुग्ने र ग्रामीण क्षेत्रमा आम्दानी तथा रोजगारीका अवसरसमेत बढ्न सक्ने स्थानीय कृषक बताउछन् । 

भारतबाट आयात हुने खसीबाट निर्यात हुने अवस्थासम्म

भट्टराईका अनुसार करिब पाँच वर्षअघिसम्म धरानको बजारमा बिक्रीका लागि भारतीय खसीसमेत ल्याइने गरिन्थ्यो । अहिले भने स्थानीय खसीबाख्रा अनौपचारिक बाटो हुँदै भारततर्फ जाने गरेको उहाँको भनाई छ । उहाँका अनुसार हप्तामा २०० वटाभन्दा बढी खसीबाख्रा भारततर्फ जाने गरेका छन् । खाना खरिदकर्ताहरुले अवैध रुपमा भारत निकासी गरिरहेको पाइएको छ । 

स्थानीय उत्पादनको माग बढेको अवस्थाले पशुपालन क्षेत्रमा सम्भावना देखाए पनि अनौपचारिक निकासीको वास्तविक परिमाण, पशु स्वास्थ्य जाँच र कारोबारको अभिलेख महत्त्वपूर्ण विषय हुन् । निकासी व्यवस्थित हुन सके किसानले उत्पादनको उचित मूल्य पाउने, व्यापारको विवरण राख्न सहज हुने र पशु स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सहयोग पुग्न सक्छ ।

धरानको कृषि उपज बजार केन्द्रले पहाडी जिल्लाका किसान र ठूला सहरका व्यापारीबीच बजारको सम्बन्ध स्थापित गर्दै आएको छ । काठमाडौंलगायत सहरबाट आउने माग र भारततर्फ भइरहेको भनिएको निकासीले स्थानीय उत्पादनको बजार विस्तार भएको सङ्केत गर्छ ।

तर बढ्दो माग धान्न उत्पादन क्षमता बढाउनु, पशुपालनका लागि आवश्यक स्रोत उपलब्ध गराउनु र पशु ओसारपसारलाई व्यवस्थित बनाउनु आवश्यक भएको कृषि प्राविधिहरु बताउनु हुन्छ । 

याे पनि पढ्नुहाेस्: धरानमा दशैं अवधीमा ९ हजार ५ सय खशी बोका विक्रि