राजविराज। गर्भवती महिलाको मृत्यु भएपछि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिरामीका आफन्त र गाउँलेले चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
सुत्केरी व्यथाले च्यापेपछि विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई २ दिनअघि अस्पताल भर्ना गरिएको थियो । नियमित चेकजाँच गर्दै आएका डाक्टर दीलिप साहकै सल्लाहमा अनितालाई अस्पताल भर्ना गरिएको उनका श्रीमान रमेशले वताए ।
बुधबार राति व्यथाले च्यापेपछि डा. साहलाई पटक–पटक फोन गरेपनि नउठाएको र अस्पतालले समेत वेवास्ता गर्दा पत्नि र वच्चा दुवै गुमाउनु परेको उनले बताए । अस्पतालका नर्सले पनि डाक्टरलाई बोलाउन कुनै सहयोग नगरेको उनको आरोप छ ।
‘विरामीको अन्तिम अवस्था भएपछि ड्युटीमा रहेकी नर्सले फोन गरेर बोलाएपछि मात्र डाक्टर साह आएका थिए । उनी आइपुग्दा बिरामीको मृत्यु भइसकेकाले तक्कालै फर्किए’–रमेशले भने ।
बिरामी र बच्चा दुवैको मृत्यु भएपछि गाउँमावाट आएका स्थानीयले अस्पताल घेराउ गर्दै टायर समेत बालेर प्रर्दशन गरेका छन् ।
घट्नाको यथार्थ पत्ता लगाउन राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यिय छानविन समिति गठन गरिएको छ । मृतकका चार वर्षीय छोरा आकाश र २ वर्षीया छोरी सरस्वती छन् ।