• नगिता लेप्चा राई

मन्त्रीज्यू

स्वागत अभिवादन

तिम्रो हाम्रो गाउँबस्तीमा आउँने हल्लाले

घाउका पाप्राजस्तै उप्किएका बाटा सड़कहरू

बेथा लाग्नेलाई अस्पताल पुऱ्याउँदै नपुऱ्याउँदै

गाड़ी गुड़्न नसक्ने बाटामै प्रसव हुने सड़कहरू

अलकत्राले चिप्लै हुन्छन् ।


मन्त्रीज्यू तिमी हाम्रो यतातिर 

आउने हल्लाले घरि घरि बिजुली जाने हाम्रो गाउँ

झलमल्ल उज्यालो हुन्छ 

हामी खुसी हुन्छौ 

यसरी गाउँ बत्तीले झलमल्ल हुँदा

मन्त्रीज्यूको आगमन नभई त यस्तो छ

मन्त्रीज्यूले हाम्रो गाउँमा पाइला टेकेपछि

हाम्रो गाउँ बत्तीको लहरले

बैकुण्ठ होला । 


मन्त्रीज्यू तिम्रो आगमनको हल्लाले

सिमेण्ट रड बुकाउने ठेकेदारहरू

कटमनी पचाउने तिम्रै बिरादरीहरू

तुलसीको पातले पखालेकाजस्ता गर्नेछन् 

कोही चाहिँ दूधै दूधमा नुहाएका जस्ता गर्नेछन् ।


मन्त्रीज्यू साँच्चै तिम्रो आगमनको दिन

तिम्रा चम्चाहरू जतिले

भए भरका भिखारीहरू बटुलिई

ट्रकमा ओसारिई

तिम्रो भाषणमा भीड़ पार्छन्

अरु को त के कुरा

हामी सबै गाउँलेलाई

मन्त्रीज्यूको भाषणमा

क्षण क्षणमै थपड़ी मार्ने भनी

सय रुपियाँ थपड़ी भत्ता

पेशगीस्वरुप दिइसकेका छन् ।

मन्त्रीज्यू....

हामी निमुखा जनताहरू

मन्त्रीज्यूको आगमनमा

बातै पिच्छे थपड़ी बजाउने

जिन्दावादको गगनभेदी नारा लाउने मात्र भयौं

तपाईको विरोधी नेताको आगमनमा पनि

हामी थपड़ी बजाउने र जिन्दाबादको नारा फलाक्ने मात्र भयौँ ।


मन्त्रीज्यू.............

आउनोस्

स्वागत अभिनन्दन हजूरलाई

जिन्दाबाद हजूरलाई

तपाई आउने हल्लाले

यहाँको बाटो चिल्लो भएको छ अहिले

यो हाम्रो गाउँ बिजुली बत्तीले धपक्क बलेको छ