धरान। दशैँको अवसरमा धरान रङ्गशालामा शुक्रबार (असोज ३० गते) ‘दशैँ फेस्ट २०८३’ आयोजना हुने भएको छ। भिन्टेज धरानको आयोजनामा हुने उक्त सांगीतिक कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा चर्चित ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित ब्यान्ड द ड्रिमकेचर्स, ट्राईबल रेनसँगै चर्चित र्यापर क्रिजन तथा धरानका लोकप्रिय ब्यान्ड पुरानो कुप्पी र छिरिङ एण्ड द इफेक्ट्सले प्रस्तुति दिनेछन्। एउटै स्टेजमा विभिन्न सांगीतिक विधा र स्वादको अनुभव लिन सकिने यस कार्यक्रमले दशैँको माहोललाई थप उत्सवमय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा द ड्रिमकेचर्सले ‘बिताउने छ’, ‘अनौठो’, ‘याद’, ‘खुसी’ र ‘मोमो सङ’ लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन्। त्यसैगरी, ट्राईबल रेनले ‘जिउनु नै होला’, ‘सहारा’, ‘शून्यता’, ‘चिन्ता’, ‘कालो’ र ‘स्वर्ग’ जस्ता गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।
त्यस्तै, चर्चित र्यापर क्रिजनले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्। पुरानो कुप्पीले ‘ब्लु सिटी’ र ‘बैमानी मन’ लगायतका गीतमार्फत दर्शकलाई झुमाउनेछ भने छिरिङ एण्ड द इफेक्ट्सले ‘मनपर्ने झरी’, ‘सुकी’ लगायत आफ्ना मौलिक गीत प्रस्तुत गर्नेछन्।
दशैँको उत्सवलाई संगीत र मनोरञ्जनसँग जोड्दै धरानमा भव्य सांगीतिक माहोल सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकले खल्ती एपस् मार्फत अनलाइन टिकट बुक गर्न सक्नेछन्। साथै, धरान रंगशालामै रहेको टिकट काउन्टरबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!