धरान । धरान उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिकामुक्त नगर घोषणा गरिएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबार भानुचोकमा आयोजित समारोहमा धरानलाई सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिकामुक्त नगर घोषणा गरिएको हो ।

नगरलाई सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिकामुक्त घोषणा गर्दै सडकमा आश्रित जीवन बिताउन बाध्य भएका व्यक्ति तथा बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिइएको जनाइएको छ । सडकमा रहेका व्यक्तिहरुलाई मानव सेवा आश्रममा राखिएको उपमहानगरले जनाएको छ । 

मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको अवधारणाअनुसार गरिएको घोषणाले सडकमा जीवन बिताउन बाध्य भएका असहाय, अशक्त तथा सहयोगापेक्षी व्यक्तिको सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने लक्ष्य राखेको धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले बताउनु भयो ।

नगर घोषणालाई सामाजिक संरक्षण र मानवीय सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । घोषणाको प्रभावकारी कार्यान्वयनका लागि सडक आश्रित मानव तथा बालबालिकाको नियमित पहिचान, उद्धार, संरक्षण र उचित पुनःस्थापनालाई निरन्तरता दिने उहाँले बताउनु भयो ।   बेघाले नगरवासीको माग र अपेक्षाअनुसार मानवमुक्त नगर घोषणालाई व्यवहारमा कार्यान्वयन गर्नु मुख्य चुनौती रहेको बताउनु भयाे । उहाँले अभियान सफल बनाउन धरानवासी एकजुट हुनुपर्नेमा जोड दिनु भयाे । 

कार्याक्रममा सामाजिक विकास समिति संयोजक  सृर्जना नेपालले सडक आश्रित मानव तथा बालबालिकामुक्त क्षेत्रको अवधारणबारे जानकारी गराउनु भयो ।कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्षता धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुखले गर्नुभएको थियो ।

मन्त्री तिम्सिनाले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । उनले सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयाे  ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।