धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९बीपी प्रतिष्ठान० धरानमा गुणस्तरीय बिरामी सेवा र बिरामी सुरक्षासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
प्रतिष्ठानको कलेज अफ नर्सिङमा ‘इम्पावरिङ नर्सेस फर क्वालिटी पेसेन्ट केयर एन्ड सेफ्टी’ (गुणस्तरीय बिरामी सेवा तथा बिरामी सुरक्षाका लागि नर्सहरूको सशक्तीकरण) विषयक कार्यशाला बिहीबार सम्पन्न भएको हो।
कलेज अफ नर्सिङका प्रथम वर्ष एमएस्सी नर्सिङ (ब्याच २०२६) का विद्यार्थीहरूले बाल स्वास्थ्य नर्सिङ विभागको मार्गदर्शन तथा सहजीकरणमा कार्यशाला आयोजना गरेका हुन्।
कार्यशालाको समापन कार्यक्रममा प्राध्यापक उपेन्द्र यादवले स्वास्थ्य सेवामा नर्सहरू महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको बताउनुभयो। उहाँले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न र बिरामीको सुरक्षा सुनिश्चित गर्न नर्सहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
उहाँका अनुसार नर्सिङ सेवामा व्यावसायिक उत्तरदायित्व, टोलीगत कार्य र निरन्तर व्यावसायिक विकास उत्तिकै आवश्यक छन्। स्वास्थ्य सेवाको गुणस्तर सुधारमा नर्सहरूको दक्षता र जिम्मेवारीले प्रत्यक्ष प्रभाव पार्ने उहाँले बताउनुभयो।
प्राध्यापक यादवले एमएस्सी नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूले कार्यशाला आयोजना र सञ्चालनमा देखाएको सक्रियता तथा नेतृत्व क्षमताको प्रशंसा गर्नुभयो। उहाँले यस्ता शैक्षिक तथा व्यावसायिक गतिविधिलाई निरन्तरता दिन पनि विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुभयो।
कार्यशालाले नर्सिङ सेवाको गुणस्तर अभिवृद्धि, बिरामी सुरक्षाप्रति सचेतना विस्तार र स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, भविष्यका नर्सिङ नेतृत्वकर्ताहरूमा व्यवस्थापकीय, शैक्षिक तथा नेतृत्व क्षमता विकास गर्न पनि कार्यशाला उपयोगी भएको आयोजकले जनाएको छ।
कार्यशालाको विशेष आकर्षणका रूपमा औषधि व्यवस्थापनमा हुने त्रुटि (Medication Error) तथा संक्रमण नियन्त्रण (Infection Control) सम्बन्धी प्रभावकारी भूमिका निर्वाह (Role Play) र सञ्चार सीप अभिवृद्धिका लागि मनोरञ्जनात्मक तथा शिक्षामूलक खेल प्रस्तुत गरिएको थियो। साथै, समूहगत छलफल र प्रस्तुतिमार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरिएको थियो।
प्रतिष्ठानका विभिन्न वार्डमा कार्यरत ३० जना वार्ड इन्चार्ज, वरिष्ठ स्टाफ नर्स तथा स्टाफ नर्सहरूको सक्रिय सहभागिता रहेको यस कार्यशालाले नर्सहरूको व्यावसायिक दक्षता, नेतृत्व क्षमता, जवाफदेहिता तथा बिरामी सुरक्षाप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस कार्यशालाले नर्सिङ शिक्षामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै गुणस्तरीय, सुरक्षित र प्रभावकारी बिरामी सेवा प्रवर्द्धन गर्न महत्वपूर्ण सन्देश दिएको छ। साथै, एम.एस्सी. नर्सिङका विद्यार्थीहरूलाई वैज्ञानिक तथा शैक्षिक कार्यशाला आयोजना र व्यवस्थापनसम्बन्धी व्यावहारिक अनुभव प्राप्त गर्ने अवसरसमेत प्रदान गरेको छ।
स्वास्थ्य संस्थामा उपचारको प्रभावकारितासँगै बिरामीको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा नर्सहरूको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!