• एनसी राई

भोजपुरको हसनपुर र उदयपुरको बेलका नगरपालिका जोड्ने चुहार पुल निर्माणको विषय फेरि चर्चामा आएको छ । पुल निर्माणसँग सम्बन्धित योजनामा बजेट विनियोजन र राजनीतिक तहमा चासो बढेसँगै जनप्रतिनिधि तथा नेताहरूको उपस्थिति र फूलमाला लगाएर गरिएका स्वागतका तस्बिर सार्वजनिक भइरहेका भइरहेका छन् । तर, पुल निर्माणको काम सम्पन्न नहुँदै विजयको उत्सव मनाउन खोज्नुले स्थानीयवासीमा प्रश्न जन्माएको छ । जनताको वर्षौँदेखिको सपना पूरा हुन बाँकी छ । यस्तो अवस्थामा फूलमाला र अबिरभन्दा निर्माणको सुनिश्चितता महत्वपूर्ण हुन्छ ।

चुहार पुल सामान्य सडक पूर्वाधारको योजना मात्र होइन । यो भोजपुरको दक्षिणी क्षेत्रलाई उदयपुर हुँदै तराईसँग जोड्ने सबैभन्दा छोटो र सम्भावनायुक्त मार्गमध्ये एक हो । पुल निर्माण भए भोजपुरको हसनपुर, आमचोक, हतुवागढीलगायतका क्षेत्रका बासिन्दालाई आवागमन सहज हुनेछ । कृषि उत्पादनको बजारीकरण, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा र पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पुग्नेछ । अहिले लामो र घुमाउरो बाटो प्रयोग गर्न बाध्य स्थानीयका लागि यो पुल विकासको नयाँ ढोका बन्न सक्छ ।

त्यसैले चुहार पुललाई कुनै एउटा राजनीतिक दल, नेता वा जनप्रतिनिधिको उपलब्धिका रूपमा मात्र व्याख्या गर्नु उचित हुँदैन । यो समग्र भोजपुरवासीको साझा सपना र आवश्यकता हो । योजना ल्याउन पहल गर्ने, बजेट विनियोजन गराउन भूमिका खेल्ने, निर्माण प्रक्रिया अघि बढाउने र कार्यान्वयनमा सहयोग गर्ने सबैको योगदानको सम्मान हुनुपर्छ । पुल निर्माणको सपना देख्ने र योजना अघि बढाउन सुरुवाती पहल गर्ने पूर्वजनप्रतिनिधि शेरधन राईको योगदानलाई पनि बिर्सन मिल्दैन । त्यसैगरी योजनाको समन्वय र निरन्तरताका लागि सक्रिय भूमिका खेल्ने प्रतिनिधिसभा सदस्य सृर्जना राईको प्रयास पनि महत्वपूर्ण छ ।

तर, राजनीतिक नेतृत्वबीच जस लिने प्रतिस्पर्धाले विकास आयोजना प्रभावित हुनु हुँदैन । एउटै योजनाको विषयमा मन्त्री, सांसद, स्थानीय तहका प्रमुख तथा विभिन्न तहका नेताहरू एकै ठाउँमा भेला हुनु सकारात्मक हुन सक्छ । त्यसले योजनाप्रति राजनीतिक प्रतिबद्धता देखाउँछ । तर, त्यस्तो जमघट फोटो खिचाउने, फूलमाला लगाउने र राजनीतिक उपलब्धि प्रचार गर्ने कार्यक्रममा मात्रै सीमित भयो भने त्यसको अर्थ रहँदैन । जनताले खोजेको सामूहिक प्रतिबद्धता भाषण र तस्बिरमा होइन, निर्माणस्थलमा देखिनुपर्छ ।

विशेषगरी भोजपुरको दक्षिणी भूगोलका जनप्रतिनिधिहरूले यस विषयमा थप जिम्मेवारी देखाउनुपर्छ । हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका अध्यक्ष अशोक राईलगायत जनप्रतिनिधि तथा यहाँका राजनीतिक दलका स्थानीय नेताहरुले पुल निर्माण सम्पन्न नभएसम्म यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुपर्छ । पुल नबन्दासम्म फूलमाला लगाएर सम्मान ग्रहण गर्नुभन्दा निर्माण सम्पन्न गराउने प्रतिबद्धता सार्वजनिक गर्नु बढी अर्थपूर्ण हुनेछ । राजनीतिक दल र नेतृत्वको प्रतिस्पर्धा पुल निर्माणको श्रेय कसले लिने भन्नेमा होइन, निर्माणलाई कसरी छिटो र गुणस्तरीय बनाउने भन्नेमा हुनुपर्छ ।

योजना स्वीकृत भएर बजेट विनियोजन हुँदैमा आयोजना सम्पन्न भएको मान्न सकिँदैन् । बजेटको सुनिश्चितता, ठेक्का प्रक्रिया, निर्माण कम्पनीको छनोट, समयसीमा, प्राविधिक गुणस्तर र नियमित अनुगमन उत्तिकै महत्वपूर्ण हुन्छन् । सरकारी बजेट जनताको करबाट जम्मा भएको रकम हो, कुनै नेता वा जनप्रतिनिधिको निजी सम्पत्ति होइन । त्यसैले विनियोजित बजेटको सदुपयोग गर्दै तोकिएको समयभित्र काम सम्पन्न गराउनु सबै सरोकारवालाको दायित्व हो ।

चुहार पुललाई राजनीतिक स्वार्थको गोटी बनाउने छुट कसैलाई छैन् । भोजपुरको विकासलाई पार्टीगत खिचातानी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । आज एउटाले जस लिने र भोलि अर्कोले विरोध गर्ने राजनीतिक संस्कारले विकासलाई वर्षौँ पछाडि धकेल्ने गरेको छ । पुल निर्माणको विषयमा देखिएको साझा उपस्थितिलाई अब साझा कार्यसम्पादनमा बदल्नुपर्छ ।

चुहार पुल बनेपछि मात्र त्यसको वास्तविक उत्सव मनाउन सकिन्छ । त्यस दिन फूलमाला र अबिर लगाउँदा त्यसको अर्थ हुनेछ । अहिले भने जनताको अपेक्षा एउटै छ– पुल निर्माणमा थप ढिलासुस्ती नहोस्, विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन होस् र भोजपुरको दक्षिणी भूगोलले तराईसँग सहज सडक सम्पर्क पाओस् । नेताहरूको एउटै तस्बिर विकासप्रतिको साझा प्रतिबद्धताको दस्तावेज बन्न सकोस्, राजनीतिक प्रचारको सामग्री मात्र नबनोस् । चुहार पुलमा अब फूलमालाको होइन, निर्माणको प्रगति देखियोस् । सरोकारवालाहरुलाई सधै खवरदारी भइरहोस भन्ने स्थानियको चाहान छ । 

chuhar photo