सिलिगुडी। हाँसो केवल मनोरञ्जनको माध्यम होइन, समाजका विकृति, विसङ्गति र मानवीय कमजोरीमाथि प्रश्न गर्ने सशक्त अस्त्र पनि हो। यही अस्त्रलाई साहित्य र रङ्गमञ्चमार्फत निरन्तर प्रयोग गर्दै आउनुभएका भारतीय नेपाली साहित्यका परिचित हास्यव्यङ्ग्यकार कृष्ण प्रधान नयाँ नयाँ नाट्य प्रस्तुतिमार्फत पनि दर्शकमाझ छाइरहनु भएको छ ।
प्रधानको लेखन तथा नाट्य सिर्जनामा तयार भएको हास्यव्यङ्ग्य नाटक ‘औँलो दिँदा डुँडुलो निल्ने !’ पछिल्लो नाटक हो । यो नाटक आगामी ७ जनवरी २०२७ मा भारतको सिलिगुडीस्थित दीनबन्धु मञ्चमा प्रदर्शन हुने भएको छ। कानेखुशी थिएटर एकेडेमीको प्रस्तुति तथा इन्शा प्रोडक्सन्स दार्जिलिङको संयोजनमा हुन लागेको यो नाट्य प्रस्तुतिले नेपालीभाषी दर्शकमाझ हाँसो र व्यङ्ग्यको नयाँ स्वाद पस्कने छ।
कृष्ण प्रधान भारतीय नेपाली साहित्य र पत्रकारितामा लामो समयदेखि परिचित नाम हो। सन् १९५६ मा भारतको खर्साङमा जन्मनुभएका प्रधानले साहित्य, पत्रकारिता, शिक्षण र रेडियो प्रसारणका क्षेत्रमा योगदान दिँदै आउनुभएको छ। नेपाली विषयमा स्नातकोत्तर तथा व्यवस्थापन र पत्रकारितामा स्नातक गर्नुभएका उहाँको सिर्जनात्मक यात्राको एउटा महत्त्वपूर्ण पाटो हास्यव्यङ्ग्य हो।
सन् १९७५ मा ‘कानेखुशी’ हास्यव्यङ्ग्य पत्रिका प्रकाशन गरेर उहाँले आफ्नो साहित्यिक र प्रकाशकीय यात्रालाई नयाँ उचाइ दिनुभएको थियो। व्यङ्ग्य रचनालाई स्थापित पत्रिकाहरूमा पर्याप्त स्थान नपाएपछि आफ्नै पत्रिका निकाल्ने सोचले ‘कानेखुशी’ सुरु गरेको उहाँले बताउनु भएको छ । त्यसयता उहाँ हास्यव्यङ्ग्य लेखन, सम्पादन, समीक्षा र समालोचनामा निरन्तर सक्रिय हुनुहुन्छ।
प्रधानका तीन दर्जन हाराहारी साहित्यिक कृति प्रकाशित भइसकेका छन्। उहाँका सिर्जनामा हास्यको आवरणभित्र सामाजिक यथार्थ, राजनीतिक प्रवृत्ति, मानवीय कमजोरी र समयका विसङ्गतिमाथि प्रहार निकै पाइन्छ। उहाँको नाट्य सिर्जनाले समेत यही व्यङ्ग्य चेतनालाई मञ्चमा उतार्ने प्रयास गरेको छ। ‘सिङ्साँढे’ लगायतका नाट्यकृतिमाथि शैक्षिक अनुसन्धानसमेत हुनु उहाँको नाट्य लेखनको अर्को महत्त्वपूर्ण पक्ष हो।
पछिल्लो समय प्रधानको सक्रियता नाट्य क्षेत्रमा अझ देखिन थालेको छ। कानेखुशी थिएटर एकेडेमीमार्फत सिलिगुडीमा नेपाली नाटकको नियमित मञ्चन र स्थानीय कलाकारलाई अवसर दिने काम भइरहेको छ। यसअघि उहाँका ‘भँगेरी फुपू’ र ‘कस्तो लाग्यो त अन्त १’ जस्ता हास्यव्यङ्ग्य तथा सामाजिक विषयवस्तुमा आधारित नाटकहरू पनि सिलिगुडीको दीनबन्धु मञ्चमा प्रदर्शन भइसकेका छन्।
‘औँलो दिँदा डुँडुलो निल्ने ! ’ शीर्षक आफैँमा नेपाली समाजमा प्रचलित एउटा अर्थपूर्ण उखान हो। कसैलाई सानो सहयोग वा सुविधा दिँदा त्यसको अनुचित फाइदा उठाउँदै अझ धेरै अपेक्षा गर्ने प्रवृत्तिलाई यसले सङ्केत गर्छ। यही शीर्षकले नाटकले मानवीय स्वभाव र सामाजिक प्रवृत्तिमाथि हास्यव्यङ्ग्यात्मक टिप्पणी गर्ने सङ्केत गर्छ।
नाटकको गीत तथा लेखन कृष्ण प्रधानले गर्नुभएको छ। निर्देशन राकेश बराइलीले गर्नुभएको छ भने ध्वनि संयोजन श्रीजय रसाइली र विद्युत् सञ्चालन शङ्कर चक्रवर्तीले सम्हाल्नुहुनेछ। पार्श्व गायनमा प्रयास योजोन, राकेश बराइली, प्रणिता गजमेर र काेरियाेग्राफिक बबिता कार्कीको सहभागिता रहनेछ। मञ्च प्रस्तुतिलाई गीत, अभिनय, प्रकाश र ध्वनिको संयोजनबाट जीवन्त बनाउने तयारी गरिएको छ।
सिलिगुडीको नेपालीभाषी समाजमा नेपाली नाटकको आफ्नै सांस्कृतिक महत्त्व छ। भाषा, साहित्य र मौलिक सामाजिक चेतनालाई पुस्तान्तरण गर्ने माध्यमका रूपमा रङ्गमञ्चले भूमिका खेल्दै आएको छ। यस्तो परिवेशमा साहित्यकार प्रधानको नाट्य सक्रियताले नेपाली सिर्जनालाई मञ्चसम्म पुर्याउने र स्थानीय कलाकारलाई सिर्जनात्मक अवसर उपलब्ध गराउने काम गरिरहेको छ।
जनवरी ७ को प्रस्तुति एउटा नाटकको मञ्चन मात्र होइन, नेपाली भाषाको हास्यव्यङ्ग्य साहित्य र रङ्गमञ्चबीचको सम्बन्धलाई थप जीवन्त बनाउने प्रयास पनि हो। दर्शकलाई हँसाउँदै आफ्नै समाज, व्यवहार र प्रवृत्तिबारे सोच्न बाध्य पार्नु नै हास्यव्यङ्ग्यको सार हो। यही सारलाई मञ्चमा उतार्ने अपेक्षासहित ‘औँलो दिँदा डुँडुलो निल्ने१’ दर्शकमाझ आउँने आयोजकले दावी गरेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!