• खगेन्द्र कार्की

सप्तकोसी ९सप्तरी० । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, सप्तकोसी नगरपालिका–१ फत्तेपुरले ८२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। केन्द्रको रजत जयन्ती समारोहको अवसरमा आयोजित पाँचदिने विशेष प्रवचन कार्यक्रमको समापनसँगै बुधबार ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।

मङ्सिर ५ गतेदेखि ९ गतेसम्म सञ्चालित प्रवचन कार्यक्रममा ‘शान्त मन, सकारात्मक सोच, प्रभावकारी नेतृत्व’ र ‘सकारात्मक ऊर्जा, उज्ज्वल भविष्य’ भन्ने नारासहित सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली विषयमा प्रवचन दिइएको थियो। अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेले प्रवचन प्रस्तुत गर्नुभएको थियो।

पाँचदिने प्रवचनले सहभागीमा आध्यात्मिक चेतना, आत्मविश्वास, सकारात्मक ऊर्जा र जीवनप्रतिको नयाँ दृष्टिकोण विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको सप्तकोसी नगरपालिकाका पूर्व नगरप्रमुख उत्तमकुमार शर्माले बताउनुभयो।

कार्यक्रमको समापन अवसरमा फत्तेपुर क्षेत्रका ८२ जना ज्येष्ठ नागरिकलाई ‘ओम शान्ति’ अङ्कित खादा, रुद्राक्षको माला, सम्मानपत्र र चिसोबाट बच्न प्रयोग गरिने हट वाटर ब्याग प्रदान गरिएको केन्द्रकी सञ्चालिका मीरा यादवले जानकारी दिनुभयो।

ज्येष्ठ नागरिक समाजका अनुभव, ज्ञान, संस्कार र प्रेरणाका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सम्मान गर्नु संस्कृति, सभ्यता र मानवीय मूल्यको सम्मान गर्नु भएको बताउनुभयो। लामो समयदेखिको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने आफ्नो इच्छा पूरा भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले केन्द्रले गरेको सम्मान कार्यक्रम प्रेरणादायी र प्रशंसनीय रहेको बताउनुभयो। यस्ता आध्यात्मिक तथा सामाजिक कार्यक्रमले समाजमा शान्ति, सद्भाव, एकता र सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

यसैबीच, स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा केन्द्रले मङ्सिर १२ गते रजत जयन्ती मनाउने भएको छ। ब्रह्माकुमारीज नेपालकी निर्देशक राजयोगिनी डा‍. राजदादीमाको प्रमुख आतिथ्यमा आयोजना हुने समारोहमा विभिन्न जातजातिका मौलिक वेशभूषासहितको झाँकी, शोभायात्रा तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने केन्द्रले जनाएको छ।