धरान । मधुमेहको बढ्दो प्रकोप, रोकथाम, समयमै पहिचान र प्रभावकारी उपचारबारे चिकित्सकीय ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले धरानमा दुईदिने राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित फिजिसियन पेर सोसियल रेस्पोन्सिविलिटी विद्यार्थी शाखा तथा विद्यार्थी कल्याण समाजको सहकार्यमा आगामी मंसिर १३ र १४ गते ‘बहुविषयगत गैरसङ्क्रामक रोग मधुमेह सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिइएको हो ।
‘रोकथाम सशक्तीकरण, उपचारमा प्रगतिः नेपालमा मधुमेहको महामारी सामना’ भन्ने नाराका साथ आयोजना हुने सेमिनार प्रतिष्ठानको अडिटोरियममा यही मंसिर २७ र २८ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञ चिकित्सक, प्राध्यापक र स्वास्थ्य क्षेत्रका विज्ञले मधुमेहसम्बन्धी अनुसन्धान, उपचार अनुभव र नवीनतम चिकित्सकीय अभ्यास प्रस्तुत गर्नेछन् ।
सेमिनारमा विश्व स्वास्थ्य संगठनको दृष्टिकोणबाट मधुमेहको विश्वव्यापी अवस्था, नेपालमा मधुमेहको वर्तमान स्थिति र स्वास्थ्य नीति, बीपी प्रतिष्ठानमा मधुमेह उपचारको अभ्यास तथा शरीरका विभिन्न अंग र प्रणालीमा यस रोगले पार्ने प्रभावबारे छलफल हुनेछ । यसैगरी गर्भावस्थामा हुने मधुमेह, बालबालिकामा देखिने मधुमेह, मानसिक स्वास्थ्यसँगको सम्बन्ध, मधुमेहका आकस्मिक अवस्था, इन्सुलिन उपचार, पोषण, शारीरिक गतिविधि तथा आधुनिक औषधि र प्रविधिका विषयमा विशेषज्ञले प्रस्तुति दिने कार्यक्रम छ ।
मधुमेहको उपचारलाई औषधि सेवनमा मात्र सीमित नगरी पोषण, शारीरिक गतिविधि, मानसिक स्वास्थ्य र विभिन्न अंगमा देखिने जटिलतासँग जोडेर हेर्ने बहुविषयगत दृष्टिकोण विकास गर्नु सेमिनारको मुख्य उद्देश्य रहेको आयोजक संस्थाका संरक्षक प्रा.डा. रोविन मास्केले बताउनु भयो । कार्यक्रममा वैज्ञानिक प्रस्तुति, बिरामीका केससम्बन्धी छलफल, प्यानल बहस, प्रश्नोत्तर र कार्यशालासमेत सञ्चालन गरिनेछ ।
सेमिनारमा चिकित्सक, स्वास्थ्यकर्मी र विद्यार्थीबीच अनुभव तथा ज्ञान आदानप्रदानका लागि विशेष सत्र राखिएको छ । विद्यार्थीका लागि अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति र क्विज प्रतियोगितासमेत आयोजना गरिनेछ । यसले भावी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मधुमेहको पहिचान, उपचार र जटिलता व्यवस्थापनबारे व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने अर्का संरक्षक डा. अरुणकुमार सिंहले जानकारी दिनु भयो ।
कार्यक्रममा बीपी प्रतिष्ठानसहित देशभरका चिकित्सक, प्राध्यापक, विशेषज्ञ, स्नातकोत्तर तथा स्नातक तहका एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ र अन्य एलाइड हेल्थ साइन्सका विद्यार्थी सहभागी हुन सक्नेछन् । नर्सिङ तथा प्रयोगशालामा कार्यरत कर्मचारी र स्वास्थ्य क्षेत्रमा रुचि राख्ने व्यक्तिलाई समेत सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
आयोजक समितिका अध्यक्ष आयाम कट्टेल र सचिव सिद्धार्थ बगालेसहित कार्यक्रमका संरक्षक डा. मास्के, डा. सिंह र डा. अजय यादव पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!