धरान ।  हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ को आयोजनामा सम्पन्न हिबिस्कस सिङ्गिङ एन्ड डान्सिङ आइडल प्रतियोगिताको गायनतर्फ रेश्मा तामाङ र नृत्यतर्फ प्रनिता तामाङले उपाधि जितेका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा, सिर्जनशीलता तथा कला प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

गायन विधातर्फ कक्षा ९ की रेश्मा प्रथम, कक्षा १० का सबिन बोहोरा द्वितीय र कक्षा ७ का आसिन राई तृतीय हुनु भयो । त्यसैगरी नृत्य विधातर्फ कक्षा ६ की प्रनिता प्रथम, कक्षा १० की आस्था उदास द्वितीय र कक्षा ७ की युनिका श्रेष्ठ तृतीय हुनु भयो । 

गायनतर्फ संगीत शिक्षक विजय गजमेर र मनिष श्रेष्ठ निर्णायक रहनु भएको थियो भने नृत्यतर्फ धरान डान्स गार्डेनका सन्देश तिम्सिना र नृत्य शिक्षिका सिमरन राई निर्णायक रहनु भएको थियो । 

अनुष्का लिम्बू र सुभद्रा खड्काले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्यकला प्रस्तुत गर्नु भयो । विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान गरी प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । अध्ययनसँगै कला, संगीत र नृत्यजस्ता सिर्जनात्मक गतिविधिमा सहभागिताले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

Hibiscus School Grand Finale Dance