सुनसरी / गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवाह भइरहेको स्वास्थ्य सेवा, बिरामीको सुरक्षा तथा अस्पताल व्यवस्थापनबारे जानकारी लिनुभएको छ ।
प्रतिष्ठान पुग्नुभएका गृहमन्त्री गुरुङले उपचारका लागि आउने बिरामीले सहज रूपमा सेवा पाए–नपाएको, बिरामीको सुरक्षाको अवस्था र अस्पताल परिसरमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राख्नुभएको थियो ।
उहाँले बिरामीलाई अन्यत्र लैजाने बिचौलियाको गतिविधि तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने कार्य नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा प्रतिष्ठानका उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक डा. इन्द्रकुमार लिम्बूलगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, सेवा सुधारका लागि भइरहेका प्रयास तथा आगामी योजनाबारे गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको तयारीबारे समेत जानकारी लिनुभएको थियो । उक्त सेवा सञ्चालन प्रक्रियामा कुनै समस्या वा अवरोध भए त्यसबारे जानकारी गराउन उहाँले निर्देशन दिनुभयो ।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गर्नुभएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!