धरान / सरकारले प्रदेश प्रमुखको बरियता टुंग्याउन नसकेको कारण हाललाई मन्त्रीसरहको सुरक्षा दिने गृहमन्त्रालयले जनाएको छ । गृहप्रवक्ता नारायण दुवाडीले अर्को व्यवस्था नभएसम्मका लागि सबै प्रदेश प्रमुखलाई मन्त्रीसरहको सुरक्षा दिइने बताए । नवनियुक्त प्रदेश प्रमुखको सपथसँगै सरकारले उनीहरूको सुरक्षा प्रबन्ध पनि मिलाएको छ । गृहमन्त्रालयले रक्षामन्त्रालयको समन्वयमा प्रदेश प्रमुखको सुरक्षा प्रबन्ध मिलाएको हो । गृहमन्त्रालयकाअनुसार नवनियुक्त प्रदेश प्रमुखको सुरक्षा व्यवस्था हाललाई मन्त्री सरहको हुनेछ ।उनले भने, ‘प्रदेश प्रमुखको बरियता टुंग्याउन सकिएको छैन । त्यसो हुँदा अहिलेलाई मन्त्री सरहको सुरक्षा दिइनेछ । बरियताक्रम टुंगिएपछि सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइनेछ ।’

प्रवक्ता दुवाडीका अनुसार नवनियुक्त प्रदेश प्रमुखको सुरक्षा प्रबन्धमा सुरक्षाकर्मी खटिइसकेका छन् । गृह र रक्षा मन्त्रालयको समन्वयमा प्रदेश प्रमुखको सुरक्षामा सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । उनले भने,‘प्रदेश प्रमुखले सपथ लिइसकेका छन् । उनीहरूको सुरक्षा प्रबन्ध मिलाइसकिएको छ । उहाँहरू जहाँ बस्नु हुन्छ, त्यहाँ सुरक्षाकर्मी पुगिसकेका छन् । सुरक्षाकर्मी रक्षामन्त्रालयको समन्वयमा खटाइएका छन् । त्यसो हुँदा उहाँहरूको सुरक्षाको पूर्ण प्रबन्ध गरिएको छ ।’

गृहका अनुसार प्रदेश प्रमुखको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेना खटिनेछन् । सुरक्षामा सशस्त्र प्रहरीका सुरक्षाकर्मी भने हाललाई खटाइएको छैन । गृहका अनुसार प्रदेश प्रमुखको निवास र व्यक्तिगत सुरक्षामा सेनाका सुरक्षाकर्मी खटिनेछन् । त्यसका लागि हाललाई जम्दारको नेतृत्वमा ११ जना सेना खटाइएको छ । प्रदेश प्रमुखको बाडिगार्डमा सेनाका एक कर्मचारी ११ जना मध्येबाटै खटिनेछन् । त्यस्तै नेपाल प्रहरीको तर्फबाट हाललाई दुई जुनियर अधिकृत खटिनेछन् । दुवै अधिकृत प्रदेश प्रमुखको व्यक्तिगत सुरक्षामा खटिनेछन् । त्यसमध्ये एक पिएसओका रूपमा प्रदेश प्रमुखसँग रहनेछन् । गृहका अनुसार सूचना संकलनका लागि हाललाई एक गुप्तचर पनि प्रदेश प्रमुखसँगै खटिनेछन् । बरियता निर्धारणपछि भने प्रदेश प्रमुखको सुरक्षा प्रबन्ध फेरबदल हुनेछ ।

गृहका सह–प्रवक्ता उमेश ढकालले प्रदेश प्रमुखहरूको सुरक्षा प्रबन्धपछि फेरबदल हुनसक्ने बताए । उनले भने,‘हाललाई मन्त्रीसरहको सुरक्षा दिने भनिएको छ । योपछि फेरबदल पनि हुनसक्छ । सरकारले केही दिनमा नै प्रदेश प्रमुखहरूको बरियता निर्धारण गर्नेछ । त्यससँगै उहाँहरूको सुरक्षा प्रबन्ध पनि फेरबदल हुनेछ ।’

सुरक्षा प्रबन्ध मन्त्रीसरहको दिने निर्णय गरे पनि गृहले प्रदेश प्रमुखको बरियताक्रम भने उपप्रधानमन्त्रीसरहको हुने प्रस्ताव तयार गरेको छ । प्रदेशका मुख्यमन्त्रीको वरीयताक्रम भने क्याबिनेट मन्त्रीसरहको हुने गरी प्रस्ताव बनाइएको गृहको भनाइ छ । गृहका सहसचिव हरिशरण पुडासैनीले प्रदेश प्रमुखको बरियता उपप्रधानमन्त्रीसरहको हुनेगरी प्रस्ताव बनाइएको बताए । उनले भने, ‘प्रदेश प्रमुखबाट मन्त्रीको सपथ हुन्छ । मुख्यमन्त्रीको बरियता क्याबिनेट मन्त्रीसरहको हुनेगरी प्रस्ताव बनेको छ । त्यसो हुँदा प्रदेश प्रमुखको बरियता क्याबिनेट मन्त्रीभन्दामाथि हुनुपर्छ । प्रस्ताव त्यहीअनुसार बनेको छ ।’