लाओस  / लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्कीएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताउनुभएको छ । देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर बगाएका वा बेपत्ता भएकामध्ये १३१ जनाको अवस्था अझै थाहा पाउन नसकिएको उहाँले बुधबार बताउनुभएको हो । 
निर्माणाधीन अवस्थामा रहेको छेपिन छे नाम नोय हाइड्रो पावरको बाँध यसै हप्ताको शुरुमा भत्कीएको थियो । बाँध भत्कीएपछि सानाम्याक्सी जिल्लाका सात वटा गाउँ प्रभावित भएको र सयौँ विस्थापित भएको अधिकारीहरूले बताएका छन् । 
घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म एकिन नभए पनि लाओसको समाचार संस्थाले २६ जनाको मृत्यु भएको पुष्टी भएको जनाएको छ । 
प्रधानमन्त्री सिसौलिथले विस्थापित भएकाहरूलाई छानासहितको बासस्थानमा व्यवस्थापनको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । 
उनले भने, “यस घटनाका कारण घरबारबिहीन हुनेहरूको संख्या कम्तीमा तीन हजार ६० पुगेको छ भने १३१ जना अझै बेपत्ता रहेका छन् ।” बर्षापछि बाँध भत्कीएर आएको बाढी अझै पनि आइरहेको र अरू पाँचदेखि छ गाउँका बासिन्दा अझै पनि प्रभावित भइरहेको प्रधानमन्त्रीले बताए । 
घटनाबाट पीडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उनले जानकारी दिए । 
कम्बोडियाको सीमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्कीएको अधिकारीहरूले जनाएका छन् ।