बैंकक / दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् । घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन् । 
सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताएका छन् । सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको घटनाका कारण ६ हजार ६ सय जना स्थानीय बासिन्दा घरबार बिहीन भएको पनि समाचारमा जनाइएको छ । 

बाँधको पानी बगेर डुबानमा परेका गाउँका मानिसहरू घरका छतहरूमा चढेर उद्धारको प्रतीक्षा गरिरहेका भिडिओ र तस्बिरहरू प्रकाशित भएका छन्। हालैको ठूलो वर्षाका कारण यो विपद्को घटना भएको हुनसक्ने बताइएको छ। लाओस सरकारले सहायताका लागि आह्वान गरेको छ।

सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडिओ तथा तस्बिरहरूमा मानिसहरू आफ्नो घरको छानामा अलपत्र परिरहेको र उनीहरूलाई डुङ्गामार्फत् उद्धार गरिएको देख्न सकिन्छ। अन्य दृश्यहरूमा भत्किएका सडक तथा पुलहरू हुँदै तीव्र गतिमा हिलाम्मे पानी बगिरहेको देखिन्छ। से-पियान से-नामनोय नामक उक्त बाँध दक्षिण कोरियाली तथा थाई कम्पनीहरूले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको हिस्सा थियो।