इटहरी /  सुनसरी क्षेत्र नम्वर ३ मा पराजित वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीले पुनः निर्वाचन गराउन माग गरेकी छिन् । उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले निर्वाचनमा धाँधली गरेर जितेको भन्दै उनले यो जितलाई स्वीकार नगर्ने बताइन् । सुनसरी क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसका उमेद्वार विजयकुमार गच्छदारले प्रतिनिधी सभा सदस्यमा ३ सय २१ मतको अन्तरले जित हात पारेका थिए । गच्छदारले ३८ हजा ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार इटहरीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले प्रहरी प्रशासन, निर्वाचन आयोगको सेटिङमा गच्छदारलाई जिताएको आरोप लगाइन् । आफूले मत जिते पनि पराजित गराएको भन्दै उनले कानुनी बाटोमा जाने बताइन् । विजेता नेपाली काँग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारलाई विचाराधिन अवस्थामा राख्न भन्दै उनले धाँदली गरेर जितेको आरोप लगाईन् । यो जितलाई षड्यन्त्र भन्दै सुनसरी ३ क का प्रदेश सभा सदस्य उम्मेद्वार लिलम बस्नेतले पनि प्रहरी र प्रशासनको मिलेमतोमा निश्पक्ष निर्वाचन नभएको बताए । बाम गठबन्धनको तर्फबाट पत्रकार सम्मेलन आयोजना गरिएको भनिए पनि पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता मात्र उपस्थित थिए ।

पत्रकार सम्मेलनमा चौधरीले मतदान र मतगणनामा पनि धाँदली भएको बताएकी छिन् ।वेलाहा क मतादन केन्द्र ३ सय ९३ को मुचुल्का फाइल मतपेटिका सुरक्षा स्थाल बाहिर भेटिएको, शिल तोडिएको अवस्थामा मतपत्र भण्डारण स्थाल बाहरि फेला परेको उनले बताइन् । यस्तै मतपेटिका भित्र भेटिएको अर्धकट्टी सहितको रुख चिन्हामा छाप लागेको मतपत्रहरुको क्रम संख्या र नम्वर हेर्न नदिएको कर्मचारी स्वयम्बाट मतदान भएको उनको आरोप छ । सो कार्यक्रमा सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझीले काँग्रेसलाई भोट मागेको र सोनापुर बालकुण्ड मतदान केन्द्रमा सहायक मतादन अधिकृतले आफू स्वयम्ले मतपत्र खसालेको पत्रकार सम्मेलनमा बताइन् ।

यस्ता छन् मतगणना धाँधलीपूर्ण भएको भन्ने आधारः
– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिनु । भगवती त्यसको सिरियल नम्बर हेरौं भन्दा मतदान अधिकृत टीका घिमिरेले ‘यो सिरियल नम्बर हेर्ने कुरा संसारको कुन कानुनमा लेखेको छ देखाउनुस् भन्दै हेर्न नमान्नु ।
– मतदान अधिकृतले मतदान सकिएपछि मुचुल्का गर्न प्रयोग गरिने खाली कागज पत्र (केहि नलेखिएको) सहितको फायल भेटिनु ।
– मत पेटिका सिल गर्न प्रयोग गरिने दुई वटा सामग्री (स्टीकर जस्तो) मतगणनास्थल भन्दा बाहिर भेटिनु । जसलाई काटेर प्रयोग गरिन्छ र प्रयोग गरिसकेपछि सुरक्षित राख्नुपर्ने हुन्छ । तर त्यो च्यातिएको अवस्थामा मतगणनास्थल बाहिर भेटिनु ।
– मतगणनास्थलमा मतगणना हुनु पहिले नै सीसी क्यामेरा जडान गर्न माग गर्दा समेत मतदान अधिकृतले अस्वीकार गर्नु ।
– मतदान स्थलभित्र टेलिफोन लग्न पाइदैन । तर काँग्रेस कार्यकर्ताले मोबाइल प्रयोग गर्नु । मोबाइल प्रयोग गर्न रोक्नु पर्ने एमाले कार्यकर्ताको कुरा मतदान अधिकृतबाट वेवास्ता हुनु ।
– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिएपछि भगवती चौधरीद्वारा मतगणना स्थगित गरि उच्चस्तरीय छानबीन समिति गठन गर्न र मतदान अधिकृत परिवर्तन अस्ती सोमबार नै निर्वाचन कार्यालय सुनसरी मार्फत निर्वाचन आयोगमा निवेदन दिएपनि त्यसको सुनुवाई गर्नुको साटो मतगणनालाई अगाडि बढाएर मतपरिणाम घोषणा गर्नु ।