माले / माल्दीभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । 
आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ । 
गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो । 
उनीहरू तीनै जनालाई फरक फरक आरोप लगाइएको छ । प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाइको छ । तर उनीहरूको मुद्दा भने अहिले अगाडि बढेको छैन । 
देशमा संकटकालको घोषणा गर्ने वित्तिकै उनीहरूलाई पक्राउ गरिए पनि अभियोग लागेकाहरूले भने यसलाई अस्वीकार गर्दै आएका छन् । 
क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ ।