धरान / सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिए ।

रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति मात्र जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् भने दर्जनौँ घर हात्तीले भत्काइदिएको छ । जंगली हात्तीले सर्वसाधारण नागरिकको घर भत्काइदिएको छ भने बालीसमेत खाई कुल्ची नष्ट गरेको बताइएको छ ।

हात्तीको आक्रमणबाट सलदेव मगरदैता गम्भीर घाइते भएका छन् । घाइते मगरदैताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । मगरदैत्ताको अवस्था चिन्ताजनक रहेको बताइएको छ । हात्तीले स्थानीयवासी गोनर भुसकुलिया, रामचन्द्र मुखिया, सतेन्द्र मुखिया लगायतका घरमा क्षति पु¥याएको छ भने केही स्थानीयवासीको तरकारी बालीमा नोक्सानी गरेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको अर्ना र हात्तीको आतंकबाट बर्षेनि लाखौँको धनमाल र बालीमा क्षति भइरहेको छ भने चारदेखि सातजना व्यक्तिको ज्यान जाने गरेको कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए।
अध्यक्ष यादवका अनुसार कोशी टप्पुमा प्रत्येक वर्ष जंगली जनावरको आक्रमणबाट बालीनाली, घर सहितको भौतिक संरचना र मानवीय क्षति भइरहेको छ । कोशी टप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहा क्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको स्थानीयवासीले बताएका छन् ।
जंगली जनावरको आतंक र आक्रमणबाट कोशी क्षेत्रका अधिकांश स्थानीयवासी राति जाग्राम बस्न बाध्य रहेको मधुवनका बिएल चौधरीले बताए ।
यस क्षेत्रमा ४ वर्षअगाडि लगाइएको सोलार फेन्स (विद्युतीय बार) ले समेत काम गर्न छोडेपछि जंगली जनावरको आतंक तीव्ररुपमा बढेको स्थानीयवासी कलिम मियाँले बताए ।