धरान /२७ बर्षको उमेरमा दुवै मृगौला फेल भएर श्रीमति मर्नु न बाच्नु अवस्थामा पुगे पछि उपचारमा समस्या झेल्दै आएका सहकर्मी प्रहरी जवानका श्रीमति सुष्मा राई शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले नगद एक लाख एक हजार आर्थिक सहयोग गरेको छ ।
धरान क्षेत्रमा भएको विद्यालय तथा कलेजको परीक्षाको ड्युटी वापत आउने भत्ता प्रहरी जवान तेन्जेन शेर्पाकी २७ बर्षीय श्रीमतिको उपचारका लागि सहयोग गरिएको हो । इप्रकाका डिएसपी रामेश्वर पौडेलले शुक्रबार कार्यकक्षमा पीडितलाई नगद हस्तान्तरण गरेका छन् । ‘१४० जना प्रहरीलाई उक्त रकम बाढ्दा प्रति व्यक्ति ८ सय जति पर्ने थियो । तर एक मुष्ठ पीडितलाई सहयोग गर्दा केही राहत हुने देखेर सहयोग गरेका हौ ।’–डिएसपी पौडेलले भने ।
सुष्माको धरानस्थीत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । हप्तामा ३ पटक उचारमा लानु पर्ने दैनिक ४ हजार खर्च हुर्दै आएको शेर्पाले बताए ।
उपचारमा समस्या
ताप्लेजुङ साँगु गाउँपालिकाका ४ का शेर्पाले २०७० मा ताप्लेजुङकै नाङ्खोल्याङ–६ की शुष्मासँग प्रेम विवहा गरेका थिए । विवहा गरेको दुई बर्षपछि श्रीमतिलाई मृगौलाको समस्या भएको शेर्पाले बताए । हाल उनी इप्रका धरानमा कार्यरत छन् । मासिक १७ हजार ४ सय तलवले श्रीमतिको उचार गर्न समस्या भएको उनले बताए । १२ रोपनी जग्गा भएको पनि बेचेर उपचार गर्दा ८ लाख ऋण भईसकेको शेर्पाले सुनाए । डाक्टरले मृगौला फेर्ने भन्दा अर्को उपाय नभएको बताएका छन् । मृगौला फेर्न २० लाख खर्च लाग्ने चिकित्सकले जनाएका छन् । २७ बर्षकै उमेरमा श्रीमतिको यस्तो हालत भए पछि उनी विक्षिप्त बनेका छन् ।
उसलाई समस्या भए पछि श्रीमतिको उपचारका लागि जोहो गर्न ड्युटीमा समेत नलगाएको डिएसपी पौडेलले बताए । उनलाई प्रहरी कल्याण शाखाबाट पनि दुई लाख उपलब्द गराइएको छ । सबै भएको सम्पतिसमेत सकिए पछि उनलाई श्रीमति बचाउन समस्या परेको डिएसपी पौडेलले बताए ।