धरान / सुनसरीको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु भएको छ । सुनसरीमा नै पहिलो पटक यसै वर्षदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वनहरुमा सरकारले शुरु गरेको हो । जिल्लाको उत्तरी क्षेत्रमा रहेको पाँचकन्या सामुदायिक वन र पानवारी सामुदायिक वनबाट सुरु गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनको काम अर्काेवर्ष अन्य सामुदायिक वनमा समेत विस्तार हुने सहायक वन अधिकृत सुरज निरौलाले बजानकारी दिए ।
यसैवर्ष सुनसरीको राष्ट्रिय वन धरान चक्ला वनमा समेत वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भइसकेको छ । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत यस वर्ष पाँचकन्या सामुदायिक वनमा ४ हेक्टर क्षेत्रफलमा रहेको वर्किङ युनिट (निश्चित क्षेत्रफल) मा कार्य गरिने पाँचकन्या सामुदायिक वनका अध्यक्ष कर्णबहादुर कार्कीले बताए ।
पाँचकन्या सामुदायिक वनमा कुकाठ तथा काठको प्रयोजनमा नआउने प्रजातिका रुखहरु धेरै रहेकोले वैज्ञानिक वन व्यवस्थापनको कामले वनको उत्पादन क्षमता बढ्ने सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले बताउछन् । यसवर्ष काम गरिने वर्किङ युनिटमा भएका त्यस्ता रुखहरु हटाएर साल प्रजातिको रुखको विउ छरेर विरुवा बढाउने वन कार्यलयाको योजना रहेको लामाले बताए ।
वैज्ञानिक वन व्यवस्थापन गदा ८० वर्षको चक्रमा एउटा वनलाई व्यवस्थापन गरिन्छ । पाँचकन्या सामुदायिक वनको सम्पूर्ण क्षेत्रलाई एउटा कन्पार्टमेन्ट मानेर ८ वटा सब कम्पाटमेन्ट र एउटा सव कम्पाटमेन्टलाई १० वटा वर्किङ युनिट क्षेत्रमा छुट्याएर जम्मा ८० वटा वर्किङ युनिट बनाइएको लामाले बताए । ति ८० वटा वर्किङ युनिटलाई प्रत्येक वर्ष एक वर्किङ युनिटमा पुनर्उत्पादन कटान कार्य गरिने कार्य योजना रहेको छ ।  पाँचकन्या सामुदायिक वनमा वन व्यवस्थापन कार्यको लागी सरकारले ५ लाख सहयोग गरेको र अन्य खर्च सोही काठ तथा दाउरा विक्री गरी गरिने बताइएको छ ।