इटहरी / नेपालमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता इटहरीमा भएको छ । प्रतियोगितामा इटहरी २ की मिठुमायाँ कार्कीले पालेको ‘हिरा’ जातको भैसी सुन्दरी कहलिएकीछन् । करिव ३ दर्जन बढि भैसीलाई उछिन्दै मिठुमायाँले पालेको ‘हिरा’ भैसी प्रतियोगितामा प्रथम भएको छ । हिराले नगद ११ हजार सहित ८० हजारको विमा सुरक्षित गरेको छ ।
वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा शनिबार सम्पन भैंसी सुन्दरी प्रतियोगितामा मिठुमायाको भैंसी सबैभन्दा स्वस्थ्य र सफा पाईएको थियो ।  भैसीबाट दुध, रागा र गोवरबाट फाईदा लिदै आएकी मिठूमायाले आफ्नो भैसी देखाएर नगद पुस्कार र भैसीको विमासमेत पाए पछि दंग परेकीछन् । ‘भैसीलाई उपस्थित गराउनु भनियो । चौकमा लगे । पुरस्कार पो पाए ।’–कहिल्यै नसुनेको प्रतियोगितामा भाग लिएकी मिठूमायाले भनिन ।
प्रतियोगितामा इटहरी नरबहादुर कार्कीले पालेको ‘चम्पा’ नामक भैंसी दोस्रो हुदै नगद े ९ हजार नगद हात पारेको छ । त्यस्तै इटहरीकै बेधनिधि दाहालले पालेको ‘काली’भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया हात पारेको छ । प्रतियोगितमा सहभागिता जनाउने ३८ भैसीको ८० हजार बराबरको जिवन बिमा समेत आयोजक संस्थाले गरेको छ । प्रतियोगितामा इटहरी वडा नं १,२,३,४ र २० बाट ३८ वटा भैंसीहरुलाई सहभागी गराइएको थियो । प्रतियोगितामा भैसीको रेखदेखर सरसफाई, स्वस्थ्यलाई प्राथामिकता दिएर छनौट गरिएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए ।
कृषकहरुलाई उन्नत जातका भैसी पालेर दुध तथा जैविक मलमा आत्म निर्भर बनाउन हौसला दिन यस्तो प्रतियोगिता गरिएको संस्थाले जनाएको छ । भैंसी प्रतियोगितामा राष्ट्रिय भैसी अनुसन्धान केन्द्रका भैंसी विज्ञ पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो, डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैंसी निरिक्षण गरि उत्कष्ठ छनौट गरेको थियो ।
‘कृषी कर्म निरन्तरताका लागि कृषकलाई हौसला भएको छ ।’–भैंसी विज्ञ पवनकुमार झाले भने । कार्यक्रममा किसानहरुलाई उत्साहित गर्ने उद्देश्यले सिरुवा महोत्सवको कार्यक्रम आयोजना गरी कृषकहरुलाई आवश्यक पर्ने ढिकी,जातोलगायतका लोप हुदै गएको सामाग्रीहरु समेत प्रर्दशनीमा राखिएको आयोजकले जानकारी दिएको छ ।  कार्यक्रममा अतिथिहरुलाई झै भैसीहरु पनि अतिथिको विल्ला लगाइएको थियो । ‘सुन्दरी’ भैंसी हेर्न उल्लेख्य मान्छेहरुको भीड लागेको थियो ।