काठमाडौँ / नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित आज पाँच जनालाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थ उच्च मूल्यदर राखी कानूनविपरीत बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरुसँग प्राचीन हस्तलिखित ‘ग्याथम्पा’ नामक २२८ पानाको एक थान बौद्ध धर्मग्रन्थ बरामद गरेको छ । सुन तथा चाँदीबाट लेखेको भनिएको उक्त धर्मग्रन्थ करीब तीन चार सय वर्ष पुरानो भनी रु १० करोडमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्तलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।